बागलुङ, ५ असोज– ३७ दिनको आइसोलेसन बसाईपछि जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् । उनको सातौं पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पताल श्रोतले बतायो ।
पटक पटक पठाइएको स्वाबबाट पोजेटिभ रिपोर्ट आइरहेकोले ढुंगानालाई डिस्चार्ज गर्न सकिएको थिएन । उनी अस्पतालमै लामो समय बस्ने जिल्लाकै एकमात्र व्यक्ति हुन् । ‘लामो बसाईपछि नेगेटिभ रिपोर्ट आएर मात्र संयोजक ज्यू डिस्चार्ज हुनुभयो’ धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले भने, ‘उहाँको स्वास्थ्य पनि राम्रो भएको छ ।’ पटक पटकको पिसिआर पोजेटिभ आएकोले ढुंगाना लामो समयसम्म अस्पतालमा बस्न बाध्य थिए ।
उनलाई सुगरको समस्या देखिएकोले पटक पटक पोजेटिभ रिपोर्ट आएको अनुमान गरिएको थियो । लक्षण देखिएर केही दिन बिरामी परेका ढुंगाना पछिल्लो दुई हप्ता भने स्वस्थ्य थिए । गण्डकी प्रदेश सरकारले बनाएको मापदण्ड अनुसार उनी अस्पतालमै बसेको बताए ।
ढुंगानाको रिपोर्ट नेगेटिभ आएपछि आइतबार अस्पताल परिसरमा आयोजित संक्षिप्त कार्यक्रममार्फत ढुंगानालाई बिदाइ गरिएको थियो । समन्वय समितिकै गाडीमा चढेर उनी निवासमा लागेका थिए । बिदाइ कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर, जिल्ला समन्वय समितिका समन्वय अधिकारी खिमबहादुर बिक र राजनीतिक दलका अगुवाले फुलमाला लगााइदिएका थिए ।
गत साउन २१ गते चितवनमा काम विशेषले गएको बेला उनलाई कोरोना संक्रमण भएको थियो । चितवनबाट फर्केलगत्तै स्वास्थ्यकर्मीकै सल्लाहमा होम क्वारेन्टाइन बसेर पिसिआर जाँच गर्दा पोजेटिभ आएपछि मात्रै अस्पताल भर्ना भएका थिए । उनले अस्पतालमा बस्दा तीन दिनसम्म बिरामी परेको बताए । ‘मलाई तीन दिनसम्म लक्षण पनि देखियो, बिरामी पनि भएँ’ ढुंगानाले भने, ‘समयमै होम क्वारेन्टाइन बसेकोले संक्रमणबाट अरुलाई बचाएँ ।’ ढुंगाना साउनमा चितवन गएर फर्केपछि संक्रमण भएको थियो ।
चितवन गएको बेला साउनको २१ गते उनलाई संक्रमण भएको अनुमान छ । त्यसको ५ दिनमा गरिएको पिसिआरबाट उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो । साउन २८ गतेदेखि लगातार ३७ दिनसम्म आइसोलेसनमा बसेका हुन् । जिल्लाको म¥र्यादा क्रममा उनी उच्च ओहोदामा छन् । उच्च ओहोदाको भएकोले होम आइसोलेसनमा समेत बस्न सक्थे । तर उनले आम जनताले झै अस्पतालकै शैयामा बस्ने योजना बनाएर आएको बताए । उनले भने, ‘छोटो समयमा निको भएर फर्कन्छु होला भनेको सबैभन्दा धेरै दिन बस्नुप¥यो ।’ लामो समय बस्दा आइसोलेसन जेल जीवन जस्तै भएको र निकै अत्तालिएको उनले प्रतिक्रिया दिए ।
संक्रमण भएर आएकाहरु छिटो फर्केर गएको थाहा पाएपनि आ“फू निस्कन नपाएको उनले बताए । सामाजिक बन्धन र प्रदेश सरकारले बनाएको प्रोटोकल नाघेर बाहिर नगएको उनले बताए । आइसोलेसनमा बसेर तातोपानी र नियमितभन्दा बढी पौष्टिक खाना खाएर मात्र संक्रमण जित्न सकिने उनले बताए । सुरुवातमा खाना नरुचेको र लक्षणसमेत देखिएकोले धेरै पटक पोजेटिभ आएको उनले स्विकारे ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले ढुंगानाले धैर्यता राखेर लामो समयसम्म आइसोलेसन बसेर समाजलाई सकारात्मक सन्देश दिएको बताए । ‘नेगेटिभ रिपोर्ट नआई घर पठाएको भए नकारात्मक सन्देश जान्थ्यो’ उनले भने, ‘कोरोना मुक्त बनाएर पठाउन पायौं ।’
बागलुङमा ३ सय ३४ जना संक्रमित भएकोमा अहिलेसम्म २ सय ९५जना निको भैसकेका छन् । आइसोलेसनमा ३८ जना छन् । एकको मृत्यु भएको छ ।





