मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बोबाङ बाढीपहिरोका बेपत्ताको खोजी रोकियो

बोबाङ बाढीपहिरोका बेपत्ताको खोजी रोकियो


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७७, मंगलबार

बागलुङ, ६ असोज– गत भदौ १७ गते गएको बाढीपहिरोमा बेपत्ताको खोजी कार्य रोकिएको छ । लगातार दुइ साता सम्म खोजी गर्दापनि नभेटिएकालाई अब भने खोजी गर्न छाडिएको हो ।
ढोरपाटन नगरपालिका वडा नं. ९ को पहिरोमा २२ जना मृतकको शव भेटिएको थियो । अझै १६ जना बेपत्ता छन् । मृतक परिवारलाई सनाखत भएपछि राज्यले राहत रकम दिएको छ भने बेपत्ताको परिवारले पाउन नसक्ने भएकोले खोजी गर्दापनि न भेटिएपछि मृतक वा सो सरहको सूचिमा राखेर पिडितलाई राहत दिने योजना बनाइएको हो ।
‘अब भेटिंदैन भन्ने भैसक्यो, खोजेर केगर्नु’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले भने, ‘बरु प्रशासनले कार्यविधि बनाएर बेपत्तालाईपनि राहत दिने योजना ल्याउनुपर्छ ।’ घटनास्थल देखि १ सय किमी तल सम्म खोजी भएपनि बेपत्ता नभेटिएको उनले बताए ।
कौशिलाका श्रीमान बिदेशमा भएकोले भाइ शेरबहादुरले उनीहरुको खोजी गरिरहेका छन् । पत्तो नलागेपछि उनीहरुको काजक्रिया पनि भएको छैन । ‘लास पनि छैन, सास पनि छैन, दाइ आउँदा के बुझाउने ?’ उनले भने, ‘खोजी उद्दारमा चासो दिन छाडियो, हाम्रा मान्छे मरेबाँचेको केही प्रमाण पाइएन ।’ बेपत्ताको खोजी कार्य सातादेखि रोकिएको उनले बताए । बिदेशबाट दाइको फोन आउँदा उत्तर दिन नसकेको उनले गुनासो गरे । ‘बेलाबेला खोज्न जाऔं भन्दा बिद्यालयमा बसेका प्रहरी टेर्दैनन्’ उनले भने, ‘अब भेटिंदैन भनेर टारेका छन्, लाश नभेटेसम्म मरेको की जिउँदो कसरी पत्याउनु ?’ प्रहरी प्रशासनले पिडितको चासो राख्नै छाडिसकेको उनले टिप्पणी गरे । ‘अहिले त १० जना प्रहरी गाउँमा आउजाउ गरिरहन्छन्, खोलामा खोज्ने कोही छैन’ पुनले भने, ‘मरेकाले त राहत पाउलान, बेपत्ताको लेखाजोखा नहुने भयो ।’ खोलामा बगेका काठदाउरा संकलन गर्ने भने प्रसस्तै भेटिन्छन् ।
भदौ १७ को बाढीपहिरोले ढोरपाटन नगरपालिका ९ दुबालका ९ बर्षका रोशन बिक, ४ बर्षका रबि बिक, २२ बर्षिकी मनकुमारी बिक, १५ बर्षकी मनिषा बिक र २१ बर्षकी टेकमाया बिक र उनकी १० महिनाकी छोरी तिर्सना पनि बेपत्ता छन् । त्यस्तै भुसुण्डेका १२ बर्षका समुन्द्र बिक र ८ बर्षका मोहन बिक, लाकुरीबोटकी ५५ बर्षकी तुलमती घर्ती समेत भेटिएकी छैनन् ।
गृह मन्त्रालयले दिने राहत रकम अहिले सम्म गाउँमा पुगेको छैन । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले नगरपालिकाको रिपोर्ट नआएर राहत बितरणमा ढीलाई भएको बताए । ‘मृतकको सनाखत र नाता प्रमाणितको प्रतिवेदन बिना राहत दिन सकिंदैन’ न्यौपानेले भने, ‘नगरपालिकालाई ताकेता गरिरहेका छौं, नआएर ढीला भयो ।’ मृतकको सनाखत र नाता प्रमाणित भएपछि मृतकको परिवारलाई एक जना भए २ लाख र त्यसभन्दा बढी भएमा एकएकलाख थप राहत रकम पाउने व्यवस्था रहेको न्यौपानेले बताए ।
जिल्ला बिपत व्यवस्थापन समितिको बैठक राखेर भेटिन नसक्ने कारण भए खुलाएपछि बेपत्तालाईपनि मृतक सरह राहत उपलब्ध गराउने न्यौपानेले तयारी गरेको बताए । नगर प्रमुख देवकुमार नेपालीले खोजीउद्दार जारी रहेकोले अन्तिम प्रतिवेदन दिन नसकेको बताए । ‘मृतक र बेपत्ताको संख्या र भत्केका घरको बिवरण बुझाएका छौं’ नेपालीले भने, ‘सिडिओ सापले सोधी रहनु भएको छ, केहीदिनमा पूर्ण बिवरण दिन सकिएला ।’ आर्थिक रुपमा के कति क्षति भएको भन्ने यकिन गर्न भने कठिन भएको उनले बताए । हरेक घरको नगद, अचल सम्पत्ति, पशुपंक्षि लगायतको क्षति बिवरण निकाल्न ठूलै मेहेनत गर्नुपरेकोले ढीला हुनु स्वभाविक भएको उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->