बागलुङ, ६ असोज– बर्षासँगै ठुलो पहिरो खसेपछि मध्ये पहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड अवरुद्ध भएको छ । बडिगाड गाउँपालिकाको राक्सेमा सडक माथिदेखि पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो ।
पहिरोले खर्वाङदेखि न्वारासम्मको सडक अवरुद्ध भएको बडिगाड गाउँपालिका वडा नं. २ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए । गाउँपालिका र मध्यपहाडी लोकमार्ग आयोजनाले पहिरो पन्छाउने प्रयास मंगलवार बिहानै देखि थालेका छन् । लोकमार्ग अवरुद्ध हुँदा सायौं सवारी सडकमै रोकीएको शेरचनले बताए । जिल्लाको ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा सडक सम्पर्क टुटेको छ ।
सोमबार साँझ खसेको पहिरोले सोही ठाउँका स्थानीय विरबहादुर घर्ती, धनबहादुर थापा, दुर्गा अर्याल, जितबहादुर विक र गोविन्द अघिकारीको घरमा क्षति पुगेपछि उनीहरु बिस्थापित भएका हुन् । बिस्थापीतलाई आफन्तको घरमा राखिएकोे शेरचनले बताए ।
पहिरोका कारण बडिगाड गाउँपालिकाका ठाउँ ठाउँमा खेतीबालीमा समेत ठुलो क्षति पुगेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले बताए ।





