बागलुङ, ६ असोज– जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका ६ जना कोरोना संक्रमित होम आईसोलेसनमा बस्न थालेका छन् । नगरको स्वास्थ्य शाखाले संक्रमितहरुलाई स्वेच्छिक आईसोलेट हुन भनेपछि उनीहरुको इच्छा अनुसारनै होम आईसोलेसनमा बसेका हुन् । होम आईसोलेसनमा बस्नेमध्ये केही स्वास्थ्यकर्मी हुन् भने केही व्यवसायी ।
यसअघि बागलुङको बडिगाड गाउँपालिकाकी एक वृद्ध पनि होम आईसोलेसनमा बसेर निको भएकी थिईन् । संक्रमित भएका सबैलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखे पनि अब घर या अस्पताल बस्ने विकल्प स्वेच्छिक बनाइएको ढोरपाटन नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङसमेत सिमित व्यक्तिहरुको मात्रै गरिने नगरपालिकाले जनाएको छ । सोमबार संक्रमण पुष्टि भएका १४ जनामध्ये ७ जना मात्र कोभिड १९ अस्थायी अस्पतालको आइसोलेसन निसीभुजी जनता क्याम्पसमा बसेका छन् ।
एक जना मंगलबार आईसोलेसनमा आउने र बाँकी ६ जना घरमै बस्ने प्रबन्ध मिलाईएको नगर स्वास्थ्य शाखाका प्रमुख घनाश्याम शर्माले जानकारी दिए । उनका अनुसार, संक्रमितको एकदमै नजिक रहेकाहरुको मात्रै संक्रमितको सम्पर्कमा आएको एक सातापछि कन्ट्याक ट्रेसिङ हुनेछ ।
‘नजिक रहेकालाई एक साता पुरा गरेर जाँच गर्ने कुरा छ, अरु कसैमा लक्षण देखिए मात्रै जाँच हुन्छ’ शर्माले भने ‘कोरोना संक्रमितको सम्पर्कमा भएकाहरु खोजी गर्दै घर–घर पुग्न अब सम्भव र साध्य छैन भन्ने कुरा भएको छ, ‘हामीले यसो भनिरहन मिल्दैन तर कन्ट्याक ट्रेसिङको टिमले थप छलफल गर्ला ।’ आगामी बुधबार कोरोना संक्रमितहरुको स्वाब लिएको एक साता पुग्ने भएकाले पुनः स्वाब लिएर पीसीआर परीक्षण गरेपछि थप रणनीति तय गरिने उनले बताए ।
जिल्लाको पश्चिम क्षेत्रका संक्रमितको उपचारका लागि लामो समयदेखि ढोरपाटन नगरपालिकाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन तयार गरेर उपचार गरिरहेकोमा यसै सातामात्रै कोभिड १९ अस्थायी अस्पताल बनाएर उद्घाटन गरिएको थियो । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले कोरोनालाई अब धेरै ठुलो भयावह र आतंकको विषय बनाउन नहुने बताए ।
समुदायस्तरमा नमुना परीक्षणका क्रममा ६९ जनाको स्वाब संकलन गरिएकोमा सोमबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत तीनजना, निजी क्लिनिकका २ जना स्वास्थ्यकर्मी छन् । अन्य ७ जना भने होटल व्यवसायी, इलेक्ट्रिसियन, मासु पसल र बैंकका स्टाफ हुन् ।
अहिले जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ४८ जना पुगेको छ । जसमा २ सय ९५ जना निको भइसकेका छन्भने ३८ जना विभिन्न आइसोलेसनमा छन् । एकजना युवकको भने मृत्यु भएको छ ।





