बागलुङ, ७ असोज– गलकोट नगरपालिका वडा नं. ८ को शिव माविले ११ वटा टोलमा वैकल्पिक शिक्षा चलाएको तीन महिना भयो । विद्यालयले बालबालिकाको चाप घटाउन ११ टोल छानेको थियो । त्यतिमात्र हैन लामो दुरी आउजाउ गरेका विद्यार्थीलाई घर नजिकै कक्षा चलेपछि झन् सहज भएको थियो । यो विधिको कक्षा निरन्तर चलिरहेको छ ।
विद्यालयका प्रअ हरि चालिसेले आफ्नो योजना शिक्षक र व्यवस्थापन समितिमा सुनाएपछि सहमति जुट्यो । गत असारबाटै उनले यो विधिको पढाइ धमाधम चलाइरहेका छन् । कक्षा १ देखि ५ सम्मका बिद्यार्थीलाई कक्षा शिक्षकले पढाउने र माथिल्लो कक्षाका विद्यार्थीलाई विषयगत शिक्षकले पालैपालो पढाउने काम भैरहेको छ । नियमित पढाईस“गै गृहकार्य दिने र परीक्षण गर्ने काम पनि गरिएको चालिसेले बताए ।
ग्रामीण क्षेत्रमा इन्टरनेट अभावमा अनलाइन संभव थिए । बरु अभिभावकको सल्लाहमा या विधिनै उपयुक्त भएको उनले बताए । असार १ गतेदेखि थालिएको टोल शिक्षाले विद्यार्थीमा नया“ उत्साह थपिएको छ । ‘अरु बिद्यालयमा अझै पढाइ भएको छैन रे, हामीले नियमित पढेका छौं’ कक्षा ९ का अर्जुन बिकले भने, ‘नजिकमा पढाइ भएकोले टाढा हिँडेर जानु पनि परेको छैन ।’ आफ्नै टोलमा भएकोले कोरोना संक्रमणको जोखिम नभएको उनले सुनाए ।
स्थानीय अभिभावक रामप्रसाद शर्माले २५ हजार खर्चेर विद्यार्थीलाई मास्कसमेत उपलब्ध गराएपछि पढाइ झनै सहज बनेको चालिसेले बताए । यो विधिको अनुसरण गर्दै केही विद्यालयले क्रमशः पढाइ थालेका थिए । काठेखोला गाउँपालिका–४ को धारा माविले पनि केही समयदेखि पालो मिलाएर विद्यार्थी राख्दै पढाई चलाएको हो । छिटफुट रुपमा अन्य विद्यालयमा पनि यस्तै पढाइ चलेको छ ।
बडिगाड गाउँपालिका १ को त्रिभूवन माविले पनि असारदेखिनै टोल शिक्षा चलाएको थियो । गाउँपालिका शिल भएको बेलाबाहेक कक्षा चलिरहेको प्रअ ढालमणी भण्डारीले बताए । ‘शैक्षिक शत्र खेर जान नदिनका लागि यो विधि ल्याइएको हो’ उनले भने, ‘परीक्षा पनि लिन भनिएको रहेछ, हामीले आन्तरिक रुपमा पनि तयारी गरेका थियौं ।’ पालिकाका अन्य विद्यालयमा भने अझै अन्यौल रहेको उनले बताए । कक्षा खोलेर दुईतीन सिफ्टमा पढाउन शिक्षक तयार भएपनि टोल शिक्षाप्रति चासो नदिएको उनले बताए ।
यस्ता प्रतिनिधि मूलक विद्यालयबाहेक अधिकांस विद्यालय अझै अन्यौलमा छन् । पालिकाले पनि के गर्ने नगर्ने निर्णय दिन सकेको थिएन । शिक्षा मन्त्रालयले असोज १ देखि लागू हुने गरी सिकाइ सहजीकरण निर्देशिका जारी गरेको छ । उक्त निर्देशिकाले ती विद्यालयले झै कक्षा चलाउन भनेको छ । सोही अनुसारको परीक्षासमेत लिने व्यवथा गरेकोले अब सबै विद्यालयलाई अनिवार्य टोल शिक्षा संचालन गर्ने बाध्यता भएको छ ।
असोज १ गतेदेखि सबै प्रकारका लकडाउन खुलेका छन् । सार्वजनिक यातायात पनि चलेको छ । तर विद्यालय के गर्ने भन्ने अन्यौल बाँकी थियो । निर्देशिकापछि पालिकाले कक्षा चलाउने तयारी गरेका छन् । जैमिनी नगरपालिकाले हरेक टोलमा रहेका प्राथमिक विद्यालयका भवनमा सबै बालबालिका जुटाएर पढाउने व्यवस्थापन गरेको छ ।
बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्माले विज्ञप्तीसमेत जारी गरेर सिकाइ सहजीकरण निर्देशिका २०७७ लाई पालना गर्न आग्रह गरेका छन् । त्यसका लागि बिद्यार्थीहरुको समूह बिभाजन गर्न भनिएको छ । रेडियो तथा एफएमको पहुँचमा रहेका बिद्यार्थी, टेलिभिजनको पहुँचमा रहेका बिद्यार्थी, इन्टरनेट र कम्प्युटरको पहुँचमा रहेका छुट्याएर सिकाइका सामाग्री प्रवाह गर्ने भनिएको छ ।
ढोरपाटन नगरपालिकामा पढाइका सूचक पुरा गर्न कठिन भएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । बुर्तिवाङ बजारमा सहज वातावरण छ, तर ग्रामीण क्षेत्रमा असाध्यै समस्या छ’ उनले भने, ‘बिद्यालय नियमित चलेकै समयमा पनि पढाइको गुणस्तर बढाउन नसकेको स्थानमा अनलाइन र रेडियोको कक्षा चलाउन सकिएको छैन ।’
बरेङमा निर्देशिका अनुसारको काम गर्ने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । ‘हामीले विद्यालय खोलेर पढाएका थियौं, यो निर्देशिकाले विद्यालय बन्द गर्नुपर्ने भयो’ उनले भने, ‘पढाइ र परीक्षाका चरण टोलमा संचालन गरिने छ ।’ अन्य पालिकाले पनि बिद्यालयमा पालो गरेर पढाउने योजना बनाएका छन् ।




