बागलुङ, ८ असोज– जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ बजारमा गैरकानूनी रुपमा फोहोर तथा शुल्क नउठाउन धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थालाई निर्देशन दिएको छ । फोहोर संकलन गर्दै आएको सहकारी संस्थासँग नगरपालिकाले २०७७ साउन ३२ गते सम्झौता भंग गर्ने निर्णय गरेको थियो । सम्झौता भंग भएकाले सहकारीेले फोहोर संकलन गरिनु गैरकानूनी कार्य भएकाले उक्त कार्य तत्काल रोक्न प्रशासनले आग्रह गरेको हो । नगरपालिकाले असोज १ गतेदेखि आफै फोहोर संकलन कार्य सुरु गरेकाले सहकारी संस्थाले आम नगरबासीमा भ्रम सिर्जना गर्ने कार्य गरी राखेको पाइएकाले फोहोर व्यवस्थापन सम्बन्धी कुनै पनि शुल्क नउठाउन आदेश दिइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले बताए ।





