सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

५ शैयाको अस्पताल बनाउँदै ताराखोला गाउँपालिका

५ शैयाको अस्पताल बनाउँदै ताराखोला गाउँपालिका

स्वास्थ्यचौकी स्तरोन्नती गर्न पूर्वाधार तयारीको काम थालियो ।


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७७, बिहिबार

बागलुङ, ८ असोज– ताराखोला गाउँपालिकाले ५ शैयाको अस्पताल निर्माण र संचालनको काम अगाडि बढाएको छ । ताराखोलाले आफ्ना भएका साधनश्रोतबाटै अस्पताल निर्माण र संचालन तयारी गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक स्थानीय पालिकामा कोभिड १९ विरुद्धका क्रियाकलाप गर्न पहल थाल्ने निर्णय गरेलगत्तै ताराखोलाले स्थानीय स्वास्थ्य चौकीलाई अस्पतालको स्वरुप दिन लागेको हो । ताराखोला गाउँपालिका वडा नं. ३ को साँधीस्थित स्वास्थ्य चौकीमा ५ शैयाको अस्थायी अस्पताल बनाउन पूर्वाधार तयार गरिरहेको अध्यक्ष प्रकाश घर्तीले बताए ।
गाउँपालिकाले उक्त स्वास्थ्य चौकीमा आइसोलेसनसमेत बनाएर कोराना संक्रमितलाई राख्ने तयारी गरेको थियो । कम्तिमा एक जना डाक्टरसहितको टिमले निगरानी गर्ने अवस्था नभएमा राख्न नमिल्ने कार्यविधिका कारण धौलागिरी अस्पताल पठाएको थियो ।
कोभिड १९ अस्पताल संचालन गर्ने सम्बन्धी मार्गदर्शन २०७७ को प्रावधानमा रहेर तयारी भैरहेको घर्तीको भनाई छ । त्यसका लागि कम्तिमा एक जना डाक्टर, २ जना नर्स तथा एक सहयोगीको दरबन्दी राख्न सहमतिसमेत भैसकेको छ । गाउँपालिकाले विज्ञापनमार्फत दरबन्दी पुरा गर्ने तयारी थालिसकेको छ ।
अस्पतालका लागि चाहिने सामग्री, उपकरण र औषधिको तयारी पनि गरेको छ । ‘भएकै पूर्वाधारमा उपकरण र औषधि खरिदपछि संचालन हुनेछ’ घर्तीले भने, ‘स्वास्थ्य मन्त्रालयले दरबन्दीका डाक्टर र नर्सको व्यवस्थापन गरेको हो ।’ गाउँपालिकाले छनौट प्रक्रियाबाट भर्ना गरेपनि उनीहरुको खर्च पालिकाले तिर्नुपर्दैन । त्यसबाहेक मन्त्रालयले थप १० लाख रुपैयाँ दिनेछ । उक्त रकममध्ये ५ लाख रुपैयाँको बेड, अक्सिजन र उपकरण हुनेछ भने तत्काल ५० हजारको औषधि खरिदको काम थालिसकिएको हो ।
साँधीस्थित स्वास्थ्य चौकीमा ठाउँ अभाव भयो भने निर्माणाधिन बहुउद्धेश्यीय भवन प्रयोग गर्न सकिने गरी तयारी भैरहेको घर्तीले बताए । एक महिनामा उक्त भवन पनि निर्माण सम्पन्न हुनेछ । उक्त भवनमा कम्तिमा ५ सय जना राखेर कार्यक्रम गर्न पनि सकिन्छ । कोरोना संक्रमणपछि जिल्ला तह र पालिका तहमा कोभिड १९ विरुद्धका गतिविधि सामान्य रुपमा चलेका थिए । ताराखोलाले भने अस्पतालकै स्वरुप दिएर काम गर्ने भएको हो ।
ताराखोलाले चालु वर्षको कार्यक्रमबाटै प्रशासकीय भवन पनि निर्माण थालेको छ । अन्य पालिकामा काम सुरु नहुँदै ताराखोलाले भवनको पहिलो तल्लाको काम आधा गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । ‘काम गर्ने भनेपछि थालिहाल्यौं, काम हुँदै गर्छ, खर्चको बाटो पनि खुल्दै गर्छ’ शर्माले भने, ‘शुन्यबाट थालेकोले धेरै भवन आवस्यक थियो, चालु बर्षभित्र सम्पन्न गर्छौ ।’ उक्त भवन बनेपछि प्रशासकीय सबै काम आफ्नै भवनमा हुनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->