बागलुङ, ९ असोज– कोरोना कहरका कारण लकडाउन हुनुपूर्व त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक झण्डै दुई हजारदेखि पच्चिस सय युवा विदेशिन्थे । रोजगारीको खोजीमा विदेशिने युवाहरुको लर्को कोरोना कहरमा पनि उत्तिकै छ ।
त्योभन्दा ठुलो लर्को खुल्ला सिमानाहुँदै भारत पस्नेहरुको छ । लागुऔषध दुव्र्यसनी, सार्वजनिक अपराधका मुद्दा र सामाजिक सञ्जालको दुरुपयोगका घटना हेर्ने हो भनेपनि युवाहरुकै बाहुल्यता देखिन्छ । सामाजिक काम र सेवाभाव भएका युवाहरु कमै मात्र भेटिन्छन् । तिनै कम युवाहरुको प्रतिनिधित्व गर्छन् ‘हाम्रो संसार’ समुहमा आवद्ध युवाहरु ।
प्राकृतिक विपत्ति, सामाजिक तथा आर्थिक बहिस्करणमा परेको समुदाय । खर्च नभएर छाक टार्न नसकेको परिवार होस वा बेसहारा सबैको घरदैलोमा पुगेर धेरथोर सहयोग गर्दै सामाजिक सेवाभाव राख्छन् यो समुहमा आवद्ध युवाहरु ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा दर्ता भएको यो समुहले स्वस्फुर्त सहयोग संकलन गर्छ । सार्वजनिक स्थानको सरसफाई, सचेतनाका कार्यक्रम सञ्चालन गर्छ, विपत् र समस्या रहेका ठाउँमा पुगेर युवाहरुको ठुलो समुहले सहयोग गर्छ ।
‘हामी सकारात्मक सन्देश प्रवाह होस भनेर संगठित भएका छौं, न कुनै दल न राजनीतिक आस्था, निस्वार्थ सामाजसेवी भावना भएका युवाहरुको जमात हो यो’ हाम्रो संसारका अध्यक्ष नवराज पौडेलले भने ‘समाजको दुःख युवाले नदेखे कस्ले देख्छ ।’ हाम्रो संसार युवाहरुको समुह सामाजिक सञ्जाल फेसबुकमार्फत जन्मिएको हो । अहिले यो समुहका सदस्यको संख्या २६ हजार बढी छ ।
‘त्यहिं सामाजिक सञ्जालको समुहमा हाम्रो छलफल, योजना बन्छन् र कार्यान्वयन हुन्छ’ हाम्रो संसारका सदस्य हरि पौडेल भन्छन् ‘देशभरिका युवाहरुको स्वस्फुर्त सहभागिता छ ।’ अहिले यो समुहले बाढीपहिरो पीडितको राहतका लागि एक रुपैयाँ सहयोग अभियान चलाएको छ । अभियानमा ७२ हजार रुपैयाँ संकलन भएको छ । बागलुङको ढोरपाटन, जैमिनी, सिन्धुपाल्चोकका बाढीपहिरो पीडित र देशका अन्य ठाउँका पीडितहरुलाई समेत यो समुहले धेरथोर सहयोग गरिसकेको छ ।
‘विभिन्न पेशा व्यवसायमा रहेका र अध्ययन गरिरहेका साथीहरु सामेल छौं’ अध्यक्ष पौडेल भन्छन् ‘यो समुह विस्तारको चरणमै रहेकाले अझै धेरै सकारात्मक काम गर्न बाँकी छ ।’ मृगौला, क्यान्सर पीडितदेखि बेसहारालाई खाद्यान्न किनेर घर घरमा पु¥याउनेसम्मका काम यो समुहले गर्छ ।
‘कुलत युवाको शत्रु हो सामाजिक भावनाले सबैले साथ पाउँछन्’ पौडेल भन्छन् ‘युवाहरु सकारात्मक बाटोमा लाग्नु पर्छ भन्ने हाम्रो मुख्य ध्येय हो ।’ समुहमा आवद्ध युवाहरुलाई वयस्कहरुको पनि साथ र सहयोग छ । उनीहरुले चलाएका हरेक अभियानमा सबैले साथ दिने गरेको बताउँछन् ।





