बागलुङ, ९ असोज– जिल्लाको जैमिनी नगरपालिका वडा नं. ५ बिनामारेका पहिरो पीडितलाई विभिन्न कामको शिलशिलामा दक्षिण कोरियामा रहेका युवाहरुले सहयोग गरेका छन् । दुई साताअघि पहिरोले घर पुरिँदा मृत्यु भएकी बिनामारेकी जालपादेवी पौडेलको परिवारलाई बिनामारे सम्पर्क समिति दक्षिण कोरियाले आर्थिक सहयोग गरेको हो ।
शुक्रबार मृतकको १३ औं दिनको पुण्य तिथीमा समाजले कोरियामा स्वस्फुर्त संकलन गरेको ३५ हजार रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरेको हो । समितिका सल्लाहकार नारायण पौडेल र सदस्य कृष्ण मल्लले पौडेल परिवारलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
सम्पर्क समितिले आफ्नो जन्मगाउँमा विपत् तथा सामाजिक काममा सहयोग गर्दै आएको छ । ‘दुःखका बेला हामीले दुःख गरेर कमाएको केही अंश खर्च गर्नु दायित्व हो’ सल्लाहकार पौडेलले भने ‘हामी स्वस्फुर्त सहयोगमा विश्वास गर्छौं ।’ मृतक पौडेलको घरसमेत बस्न नमिल्ने गरी भत्किएकाले पुननिर्माण र तत्कालिन समस्यामा सहयोग पुगोस् भनेर नगद सहयोग गरेको उनले बताए ।





