बागलुङ, ९ असोज– जिल्ला प्रहरी कार्यालय बागलुङको प्रमुखका रुपमा पदबहाली गरेका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठलाई उद्योग वाणिज्य संघले शुक्रबार स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै श्रेष्ठले प्रहरीको भन्दा राम्रो सञ्जाल भएको उद्योग व्यवसाय क्षेत्रले सामाजिक सुशासन र शान्तिका लागि योगदान गर्न सक्ने बताए । सञ्जाल राम्रो भएको संस्थामा सूचनाको स्रोतसमेत राम्रो हुने भन्दै उनले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न व्यवसायीको सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।
उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले व्यवसायी र प्रहरीबीच सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । बागलुङ बजारमा शान्ति सुरक्षा कायम गर्न बागलुङ नगरपालिका संगको सहकार्यमा सिसि क्यामेरा छिट्टै जडान गरिने श्रेष्ठले बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ,संघका निर्वतमान अध्यक्ष जयराम भारी, महिला उद्यमी संघका अध्यक्ष भगवती केसीलगायतले बोलेका थिए । अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्माको धन्यवाद र महासचिव नरेश कँडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





