बागलुङ, ९ असोज– जिल्ला प्रहरी कार्यालय बागलुङले अदालतले फैसला सुनाएर सजाय भुक्तान गर्न बाँकी दश जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ । फरार अभियुक्तको खोजी अभियान तीव्र बनाएको प्रहरीले शुक्रबार विभिन्न मुद्दाका दश जनालाई नियन्त्रणमा लिएको हो ।
११ वर्ष पहिले जिल्ला अदालतले लागुऔषध मुद्दामा सजाय तोकेका दुई जना ताराखोला गाउँपालिकाबाट पक्राउ परेका छन् । ताराखोला गाउँपालिका वडा नं. १ का ३८ वर्षिय हर्क बहादुर घर्ति र सोही ठाउँका ५८ वर्षिय नरबहादुर घर्ती पक्राउ परेका हुन् । उनीहरुको कैदसमेत भुक्तान हुन बाँकी छभने जरिवाना बुझाएका छैनन् ।
त्यस्तै वन्यजन्तु मुद्दामा जरिवाना भुक्तान गर्न बाँकी बागलुङ नगरपालिका वडा नं. १२ का ४५ वर्षिय शशिधर बिक, सार्वजनिक अपराध मुद्दाका सोहीका ३० वर्षिय प्रविण परियार र २३ वर्षिय सयरदी मियाँ पक्राउ परेका छन् ।
यस्तै, सार्वजनिक अपराध मुद्दामै बरेङ गाउँपालिका वडा नं. १ का ४० वर्षिय सन्त बहादुर सुनुवार, बागलुङ नगरपालिका वडा नं. २ का ५० वर्षिय सेते थापा, गाली बेइज्जती मुद्दामा बागलुङ नगरपालिका वडा नं. २ की ६५ वर्षिया नैना केसी, जुवा मुद्दाका जैमिनी नगरपालिका वडा नं. ५ बिनामारेका ४५ वर्षिय मनोज रोका, सवारी ज्यान मुद्दाका काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीका ३१ वर्षिय चित्र बहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई शुक्रबारनै जिल्ला अदालत पेश गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । पक्राउ परेकामध्ये लागुऔषध मुद्दाका दुई जनाबाहेक सबैको जरिवाना मात्रै भुक्तान हुन बाँकी छ । पाँच सयदेखि पाँच हजारसम्म जरिवाना अदालतले तोकेर पनि भुक्तान गर्न नआएकालाई विभिन्न प्रहरी इकाईको सक्रियतामा नियन्त्रणमा लिईएको रेग्मीले बताए ।





