
बागलुङ, १० असोज– वर्षात् लागेपछि देशभर भएका बाढीपहिरोको खबरमा अधिकांश ग्रामीण सडकमा पहिरो खसेका छन् । मानिसको मृत्युको कारणसमेत अव्यवस्थित रुपमा खनिएका ग्रामीण सडक हुन् ।
एउटै गाउँमा जाने तीनचार वटासम्म सडकले बाढी र पहिरो निम्तने गरेको छ । जथाभावी खनेका सडकले खानेपानीका मुहान सुकेका छन्भने कतिपय स्थानमा पुराना खानेपानीका मुहान बगेका छन् । ट्यांकी भत्केका छन् । घरहरु बगेका छन् । अब गाउँमा अर्को सडक खन्ने जमिनसमेत बाँकी छैनन् ।
बागलुङका ग्रामीण क्षेत्रमा खनिएका अधिकांस सडकको हालत यस्तै छ । ढोरपाटनको पहिरोपछि बढी क्षति भएको जैमिनीमा पनि ग्रामीण सडककै कारण दुर्घटना भएको हो । जैमिनीमा सडककै कारण ३ जनाको मृत्यु भयोभने ३९ घर विस्थापित छन् । तरपनि ग्रामीण सडक खन्ने योजना हटेका छैनन् ।
गाउँपालिका र नगरपालिकाले अधिकांस पूँजिगत बजेट सडकमै सकिरहेका छन् । उनीहरुले अझै संरचना बनाउने र सडकहरु पक्की बनाउनेतर्फ लगानी नगर्दा पहिरोको जोखिम बढिरहेको हो । अघिल्लो वर्षसम्म नभएको पूर्वाधार विकास कार्यालयसमेत बागलुङमा थपिएको छ । उक्त कार्यालयमार्फत दर्जनौं ग्रामीण सडक खन्ने योजना छ । कार्यालय प्रमुख सोभियत खड्काले भने पहिरो नियन्त्रण हुनेगरी सडक बनाउने बताइरहेका छन् । कार्यालयले राखेको लक्ष र बजेटको रकम हेर्दा भने मर्मतको नाममा पहिरो निम्त्याउने काम हुने संभावना बढिरहेको टिपप्णी भएको छ ।
गत भदौको पहिलो हप्तादेखि बागलुङमा पूर्वाधार विकास कार्यालय पनि खुलेको हो । यो कार्यालयले पनि चालु वर्ष ८० वटाभन्दा धेरै सडक आयोजनामा काम गर्नेछ । अधिकांस नयाँ ट्रयाक र मर्मतको शिर्षकमा बजेट आएको छ । तर बजेट भने यो कार्यालयमा पनि १० लाखदेखि सुरु भएका छन् । एकदुइवटा योजना मात्र करोड अंकका छन् ।
‘सडकमा १०, १५ लाख रकम भनेको पहिरो निम्तने गरी डोजर लगाउने मात्रै हो’ अधिवक्ता राम शर्माले भने, ‘दिगो विकासको योजना बनाउने विषयमा अझै कोही गम्भिर बनेका छैनन् ।’ गाउँमा डोजर पठाएपछि सडकबाहेकका अन्य बस्तीमा समेत पहिरो खस्न थालेको स्थानीयको अनुभव छ ।
जैमिनीमा पहिरो खस्नुमा पनि भैरवस्थान जाने चारवटा सडक एउटै क्षेत्रमा खनेकोले भएको स्थानीय बलराम पौडेलको गुनासो छ । ‘बाटो खनेपछि विकास हुन्छ भनियो, तर पहिरोले घरपरवार विस्थापित बनाइदियो’ उनले भने, ‘पहिरो नियन्त्रणको काम र बजेट कसैले राखेका छैनन् ।’ अहिले दुइचार हजार राहत दिएर विस्थापित फर्कन नसक्ने र जोखिमका घर जोगाउन राहतले केही गर्न नसक्ने उनले बताए ।
गत भदौ १७ गते गएको भुजीखोलाको बाढीपहिरो पार गरेर ढोरपाटन पुग्नका लागि ढोरपाटन सालझण्डी सडक परियोजना संचालनमा छ । तर कार्यालयले पनि यो क्षेत्रको आसपासबाट तीनचारवटा सडक लैजाने योजना बनाएको छ । ती सबै सडकका लागि ५० देखि १ करोडसम्मको बजेट छ । नयाँ सडक खोल्दा नियमित पहिरोको समस्या निम्तने गरेको स्थानीयले बताए । तीन वर्षअघि पनि ढोरपाटन नगरपालिका ६ मा पहिरोले दर्जनौ घर बगाएको थियो । अहिले पनि १ सय २६ घर बगाएको छ । बस्ती पुननिर्माणको काम थाल्नु अघिनै जथाभावी सडकको ट्रयाक बनाउने क्रम सुरु भैसकेको छ ।





