बागलुङ, १० असोज– जिल्लाको निसीखोला गाउँपालिका–६ भल्कोटका पहिरो पीडितहरुका लागि युवा व्यवसायी सिताराम बोहोराले राहत प्रदान गरेका छन् । बुर्तिबाङ बजारमा सञ्चालित बुर्तिबाङ इमरर्जेन्सी पोलिक्लिनिकका सञ्चालक बोहोराले पीडितलाई रु १९ हजार नगद सहित तत्कालको लागि आवश्यक ८ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका हुन् । निसीखोला गाउँपालिका– ६ भल्कोटमा गत बिहिबार दिउँसोको पहिरोका कारण पीडित भएकाहरु प्रति सहानुभुती प्रकट गर्दै उनले राहत प्रदान गरेको बताए । पहिरोमा स्थानीय खिमबहादुर बि.कको घर पुरीँदा परिवार विस्थापीत भएको थियो । घरमाथिबाट खसेको पहिरोले पुरिँदा खिमबहादुर बिकका २ बर्षिय छोरा सम्राट विक घाईते बनेका थिए । उनलाई घरमुनि पुरिएको अवस्थामा स्थानियले उद्धार गरेका थिए । बालकको झिवाखोला स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।





