सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गर्भवतीका लागि जैमिनीमा ‘ग्रामिण भिडियो एक्सरे’ सेवा

गर्भवतीका लागि जैमिनीमा ‘ग्रामिण भिडियो एक्सरे’ सेवा

गाउँघरमा सेवा नहुँदा यहाँका महिलाहरु निकै समय र पैसा खर्च गरेर गर्भ जाँच गराउने गरेका थिए ।


  • ढोरपाटन संवाददाता
  • असोज १० २०७७, शनिबार

बागलुङ, १० असोज– दुरदराजका गर्भवतीलाई सर्वसुलभ ‘भिडियो एक्स–रे’ सेवा उपलव्ध गराउन बागलुङको जैमिनी नगरपालिकाले ‘ग्रामिण भिडियो एक्सरे’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरको मुकाम कुश्मीशेरा बजारदेखि भौगोलिक दुरीका हिसाबले टाढा रहेका स्वास्थ्य संस्थाहरुमा घुम्ती ‘भिडियो एक्स–रे’ सेवा सञ्चालनमा ल्याईएको हो ।
पहिलो चरणमा स्वास्थ्य शाखाले वडा नं. ८ छिस्ती, वडा नं. ७ जैदी, वडा नं. १० राङ्खानी र वडा नं. ३ उपल्लो दमेकमा रहेका स्वास्थ्य संस्थाबाट यो सेवा सञ्चालनमा ल्याएको स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले बताए । यसअघि नगरका गर्भवतीलाई प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेराले मात्रै ‘भिडियो एक्स–रे’ सेवा दिँदै आएको थियो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ससर्त अनुदान एक लाख रुपैयाँ र नगर पालिकाको झण्डै तीन लाख रुपैयाँ प्रयोग गर्नेगरी यो कार्यक्रम सञ्चालनमा आएको हो । असोजको पहिलो सातादेखि कार्यान्वयनमा आएको कार्यक्रमअन्र्तगत हालसम्म ४५ जना गर्भवतीहरुले सेवा लिएका छन् ।
‘सबैको पहुँचमा सूचना नपुगेको पनि हुन सक्छ’ स्टार्फ नर्स सुनिता चालिसे भनिन् ‘यो सेवा प्रभावकारी हुने देखियो, धेरै गर्भवतीहरु उत्साहित हुनुहुन्छ ।’ गर्भवती महिलाले चार पटक गर्भ जाँच गर्नुपर्छ । स्वास्थ्य शाखाले हरेक तीन महिनामा घुम्तीसेवा सञ्चालन गर्ने योजना बनाएको छ ।
गाउँघरमा सेवा नहुँदा यहाँका महिलाहरु निकै समय र पैसा खर्च गरेर गर्भ जाँच गराउने गरेका थिए । गर्भ जाँच स्थानीय स्वास्थ्य चौकीमा नियमित गराउने महिलाहरु पनि भिडियो एक्स–रेको लागि कहिले बुटबल, पोखरा त कहिले धौलागिरी अञ्चल अस्पताल बागलुङमा पुग्ने गरेका थिए ।
बच्चाको अवस्था थाहा पाउन भिडियो एक्स–रे गर्न टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुँदा निकै खुसी लागेको जैमिनी–८ छिस्तीकप् गर्भवती रमादेवी रेग्मीले बताईन् । ‘वर्षायाम गाउँको बाटो अप्ठ्यारो, कोरोनाको डर, बागलुङ बजार कसरी जानेहोला भन्ने चिन्ता लागेको थियो’ रेग्मीले भनिन्– ‘यसपालीदेखी गाउँकै स्वास्थ्य चौकीमा सेवा लिन पायौं । निकै सहज भयो, पैसाको बचतसंगै जोखिम पनि मोल्नुपरेन ।’
घुम्ती सेवाका लागि नगरपालिकाले कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत तालिम प्राप्त सिनियर अनमी मनिकला थापा र लक्ष्मी शर्मालाई जिम्मेवारी दिएको छ । उक्त सेवा प्रदान गर्न डिजिटल भिडियो एक्सरे भएका कारण तालिम प्राप्त स्वास्थ्यकर्मीले सेवा दिन सक्नेछन् ।
यो सेवा सबै गर्भवती महिलालाई निःशुल्क रुपमा प्रदान गरिने छ । कार्यक्रम संचालन भएसँगै जैमिनी क्षेत्रमा मातृ तथा नवजात शिशु मृत्यु दर शुन्य पारिने नगरप्रमुख इन्द्रराज पौडेलले बताए । नगरपालिको सुरक्षित मातृत्वसंगै परिवार नियोजनका कार्यक्रमलाई अघि बढाएको छ ।

तस्विरः सन्ध्या आचार्य

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->