बागलुङ, १० असोज– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले जैमिनी नगरमा पहिरोमा परि ज्यान गुमाउनेका परिवारलाई राहत वितरण गरेको छ । जैमिनी–१ टुनिवोटका दुई परिवार र वडा नं. ५ बिनामारेको एक परिवारलाई जनही दश हजारका दरले राहत रकम वितरण गरिएको हो ।
गत भदौं २८ र २९ गतेको अविरल वर्षाका कारण घरमाथीबाट आएको पहिरोमा परि टुनिवोटका ६० वर्षीय लक्ष्मी पौडेल र ६८ वर्षीय हरिकृष्ण शर्मा तथा बिनामारेकी ६९ वर्षीय जालपादेवी पाध्याको निधन भएको थियो ।
पीडित परिवारलाई नेकपा कार्यालय सदस्य फमलाल निउरेले राहत रकम हस्तान्तरण गरेका थिए । राहत कार्यक्रममा जिल्ला इन्चार्ज बलावती शर्माले परिवारप्रति समवेदना प्रकट गर्दै शोक मन्तव्य राखिन् । कार्यक्रमको सञ्चालन जिल्ला कार्यालय सदस्य लालबहादुर थापाले गरेका थिए ।
नेकपाले जिल्लाभित्र प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउने सबै मृतकका परिवारमा परेको दुःखमा साथ दिने उद्देश्यले सहयोग स्वरूप राहत रकम वितरण गर्ने जिल्ला कार्यालय सदस्य विष्णु भुषालले बताए ।





