आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

सामाजिक कि असामाजिक सञ्जाल ?

सामाजिक कि असामाजिक सञ्जाल ?


  • नविन किशोर गैह्रे
  • असोज ११ २०७७, आइतबार

कम्प्युटर वैज्ञानिक टिम बर्नर लीले वल्र्ड वाइड वेबको आविश्कार गरेपछि सन् १९९० मा हामीले अहिले बुभ्mने गरेको इन्टरनेटको जन्म भयो । शुरुतिर इन्टरनेट वेबसाइटमा रहेका तथ्याङ्क वा सूचना प्राप्त गर्ने माध्यम मात्र थियो । पछि “सामाजिक वेब” पनि भनिने “वेब २.०” को विकास भएपछि इन्टरनेटका प्रयोगकर्तालाई कुनै विषयमा एकापसमा अन्तरक्रिया गर्ने सुविधा प्राप्त भयो । इन्टरनेट प्रविधिमा भएको यही प्रगतिले सामाजिक सञ्जाललाई जन्मायो । नेपालको सन्दर्भमा अहिले धेरैले इन्टरनेटको प्रयोग सामाजिक सञ्जाल चलाउनका लागि गर्छन् । धेरैलाई इन्टरनेट भनेकै सामाजिक सञ्जाल वा सामाजिक सञ्जाल भनेकै इन्टरनेट जस्तै भएको छ । सन् १९९७ बाट शुरु भएका सामाजिक सञ्जालले तेइस वर्षमा लामो यात्रा तय गरेका छन् । यस अवधीमा सामाजिक सञ्जाल इन्टरनेट प्रयोग गर्नेलाई अति प्रिय बनेका छन् । नेपालजस्तो तुलनात्मक रुपमा थोरै जनसंख्या भएको र कम विकसित देशमा सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडको हाराहारीमा हुनु मजाक होइन । सामाजिक सञ्जालका प्रयोगकर्ताको यो संख्या निरन्तर बढ्दो छ ।
हरेक विषयका फाइदा र हानी दुबै पक्ष हुन्छन् भनेर बच्चैदेखि सिकाइँदै र सिक्दै आइएको छ । सामाजिक सञ्जाल पनि यस्को अपवाद छैन । सदुपयोग भयो भने सामाजिक सञ्जालका धेरै फाइदा छन् तर दुरुपयोग भयो भने उत्तिकै बेफाइदा पनि । यी सञ्जाल तथ्यांक र सूचनाका खानी हुन् । कुनै विषयको अध्ययन र अनुसन्धानमा यी सञ्जाल साह्रै उपयोगी सिद्ध हुन सक्छन् । नेपालमा विश्वविद्यालय शिक्षाको पाठ्यक्रममै समावेश गरेर सामाजिक संजालमा रहेका तथ्यांक र सूचना पाउने र प्रशोधन गर्ने विधी सिकाइन थालेपछि यिनको सान्दर्भिकता झन् बढेको छ । यो बाहेक मनोरञ्जन र संचारजस्ता क्षेत्रमा पनि सामाजिक सञ्जालको प्रयोगले पु¥याउने फाइदा धेरै छन् ।
सामाजिक सञ्जालको प्रयोगमा सामाजिक मूल्य र मान्यता ख्याल गरिएन भने यी सञ्जाल भयंकर “असामाजिक” सञ्जाल बन्न सक्ने खतरा पनि उत्तिकै छ । जिम्मेवार व्यक्तिले सार्वजनिक रुपमा बोलेका कुराको समेत जवाफदेहिता लिनै नपर्ने अभ्यास रहेको नेपालजस्तो देशमा त यो जोखिम अझै बढी हुन्छ । विभिन्न अध्ययनले सामाजिक सञ्जालको प्रयोगले व्यक्तिलाई एक्ल्याउँदै लगेको देखाएको छ । सामाजिक सञ्जालले व्यक्तिलाई वास्तविक समाजबाट टाढा बनाउँदै नीजलाई क्रमशः असामाजिक बनाउँदै लगेको छ । धेरै सम्बन्ध तोडिनुमा सामाजिक सञ्जाल मुख्य उत्प्रेरकको रुपमा रहेका समाचार अब नौलो लाग्दैन । सामाजिक सञ्जालकै माध्यमबाट अपराधका नयाँ तरिका वा शैलीको प्रयोग भएका उदाहरण पनि प्रसस्तै पढ्न र सुन्न पाइन्छन् ।
केही समय पहिले राष्ट्रकवि माधव घिमिरे जीवितै छँदै उनको मृत्यु भएको भन्ने गलत सूचना नेपाली प्रयोगकर्ताले चलाउने फेसबुक र ट्वीटरका भित्तामा एकाएक भाइरल बनेको थियो । सामान्य मात्र नभएर धेरै विद्वान र बुद्घिजीवि कहलिएका व्यक्ति र विभिन्न ओहदामा रहेका जिम्मेवार पदाधिकारीले समेत त्यो समाचारको सत्यता पुष्टि नगरी शेयर गरे । मृत्यु जोसुकैको होस, अति सम्वदेनशील घटना हो । त्यो त झन् राष्ट्रकविजस्तो सम्मानित व्यक्तिको थियो । तैपनि त्यस्तो गलत सूचना एकाएक सबैतिर फैलियो ।
२०७२ बैशाखको भूकम्पपछि होस या हरेक वर्षा याममा तराईमा आउने बाढी र पहाडमा जाने पहिरोपछि, सामाजिक सञ्जालमा विदेशका यस्तै प्रकारका प्रकोपका विभत्स तश्विर राखेर नेपालको भनी प्रचार गरेर मानवीय संवेदनामा खेलवाड गर्ने पात्र पनि धेरै देखिए । सामाजिक सञ्जालका यस्ता गलत र अमर्यादित प्रयोगका उदाहरणको सूची निकै लामो हुन्छ । सूचना गलत हुन कि सही विचारै नगरी सेयर गर्न समाजका पढेलेखेका व्यक्तिनै अगाडी हुनु उदेकलाग्दो पक्ष हो ।
सामाजिक सञ्जालमा केही पोष्ट वा शेयर गर्न लागिंदै छ भने त्यसको सत्यताको खोजबिन गर्नैपर्छ । सामाजिक सञ्जालको एउटा पोष्टले समाजमा धेरै ठूलो असर पु¥याउन सक्छ भन्ने तथ्य सदैब ख्याल गरिनु पर्छ । कसैको मृत्य भयो भने शवको छेउमा उभिएर खिचिएका तश्विर, कुनै दुर्घटनाका हेर्नै नसकिने विभत्स दृष्य वा दैवी प्रकोपपछि उद्धारका क्रममा खिचिएका अप्रासंगिक सेल्फी आदि सामाजिक सञ्जालमा राख्ने काम वास्तवमा असामाजिक कार्य हुन । त्यसैले धेरै लाइक वा कमेन्टका आशामा यस्ता विषयलाई सामाजिक सञ्जालमा राख्ने काम निरुत्साहित हुनैपर्छ ।
नेपालका विभिन्न जातका बीचको पारस्परिक मिलन र सौहार्दता र धार्मिक सहिष्णुता विश्वमै उदाहरणीय छ । सामाजिक सञ्जालको प्रयोगका क्रममा नेपालको यो सौन्दर्यलाई मनन गरिनु पर्छ । कतिपय विदेशी मुलुकमा सामाजिक सञ्जालमा गरिएको एउटै पोष्टले सामुदायिक दंगा भड्किएका उदाहरण छन् । नेपाली सामाजलाई खल्बलाउन र द्वेष फैलाउन सामाजिक सञ्जालको प्रयोग हुनसक्छ । तसर्थ सामाजिक सञ्जालमा केही विषय पोष्ट, शेयर वा टिप्पणी गर्नुअघि त्यसले समाजमा पुर्याउन सक्ने सम्भावित असरको बारेमा गहिरिएर सोंच्न अति आवश्यक हुन्छ ।
कसैलाई केही चित्त बुझेन वा कसैसंग केहि आग्रह रह्यो भने सामाजिक सञ्जालमा एक हरफ नराम्रो लेखिदिए पुग्छ । समाजको ठूलो समूह त्यस्को सत्यता खोजविन गर्नेतर्फ लाग्दैनन् । त्यही एक हरफको आधारमा धारणा बनाइदिन्छन् । नेपालका धेरै नेता, सामाजिक अभियन्ता, कलाकार, खेलाडी, अन्य पेशाकर्मी व्यक्ति र विभिन्न संघ संस्था यस्ता घटनाबाट पिडित भएका छन् । सामाजिक सञ्जालको मर्यादित प्रयोगको अर्काे आयाम यी सञ्जालमा गरिने पोष्ट, शेयर वा टिप्पणीप्रति जिम्मेवारीबोध गर्ने हो । सामाजिक सञ्जालमा कसैले केही विचार वा विषय राख्छ भने उ त्यसप्रति पूर्ण जिम्मेवार र जवाफदेही हुनैपर्छ ।
सामाजिक सञ्जालको नकारात्मक प्रयोग नियतवस वा कहिले काँही नजानेर पनि हुने गर्छ । कुनै निश्चित उद्देश्यका लागि संचालित व्यक्ति वा समूहको कामनै सामाजिक सञ्जाललाई आप्mनो उद्देश्यलाई सहयोग पुग्नेगरी प्रयोग गर्नु हो । यीनलाई समाजमा जस्तोसुकै असर परोस् आप्mनो उद्देश्य पूर्तिबाहेक अरु केही मतलब हुँदैन । कुनै उद्देश्य नभएका तर परपीडक स्वभावका व्यक्तिले पनि सामाजिक सञ्जालको नकारात्मक प्रयोग गरिरहेका हुन्छन् । कोही अरुको देखासिखीमै त कोही यसो गरें भने म चर्चित हुनेछु भन्ने लोभले जानेरै सामाजिक सञ्जालको गलत प्रयोग गरिरहेका हुन्छन् । सामाजिक सञ्जालका सबैखाले नकारात्मक प्रयोगलाई साइबर कानुनमार्फत दण्डनीय बनाउन सकियो भने पक्कै सकारात्मक प्रयोग प्रबद्र्धन गर्न सकिने छ ।
नेपाल लोकतान्त्रिक मुलुक हो । अभिव्यक्तिको स्वतन्त्रताले लोकतन्त्रको प्राण भरिरहेको हुन्छ । सामाजिक सञ्जाल अभिव्यक्तिको सजिलो माध्यम बनेका छन् तर यसो भन्दैमा यीनमा जेसुकै लेख्न वा पोष्ट गर्न पाउन पर्छ भन्ने हुँदैन । यीनमा व्यक्त गरिने विचारलाई लगाम लगाउनै पर्छ । सामाजिक सञ्जालको नकारात्मक प्रयोगलाई नियन्त्रण गर्नै पर्छ ।
विद्युतीय कारोबार ऐन, २०६३ मा “कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ” भन्ने लगायतको व्यवस्था गरिएको छ ।
यो कानूनी व्यवस्थाले मात्र “असामाजिक” बाटोमा हिंड्न लागेका “सामाजिक सञ्जाल”लाई “सामाजिक” बाटोमा डो¥याउला भनेर विश्वास गर्न सकिने ठाउँ निकै कम छ । तसर्थ सामाजिक सञ्जालका प्रयोगकर्ता स्वयंले समेत हरबखत यस्ता सञ्जालको सकारात्मक र मर्यादित प्रयोगको पक्षमा सचेत रहँदै सोही अुनसार प्रयोग गरी आफुलाई सभ्य र जिम्मेवार नागरिकको रुपमा प्रस्तुत गर्नु श्रेयस्कर हुन्छ ।
(लेखक गैह्रे आँधिखोला बहुप्राविधिक शिक्षालय वालिङ–१३, स्याङ्जाका प्रमुख हुन ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->