बागलुङ, ११ असोज– आईतबार विश्व पर्यटन दिवश । परिस्थिती सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको ठुलै भीड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम पनि हुन्थे । तर कोभिड–१९ को त्रासदी हटेको छैन् । प्रविधिको प्रयोगमार्फत हुने कार्यक्रमबाहेक बागलुङ जिल्लामा कुनैपनि कार्यक्रम भएनन् ।
पर्यटनका हिसाबले भरपुर सम्भावना बोकेको जिल्ला हो बागलुङ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० बाट ठुलो आशा राखेको थियो बागलुङले तर महामारीले त्यसो हुन सकेन् । विश्व पर्यटन दिवसका अवसरमा यहाँका पर्यटनसँग सम्बन्धित कोही कसैले औपचारिक कार्यक्रम गरेनन् । कोरोना महामारीको समयमा अग्रभागमा रहेर काम गर्ने बागलुङका पत्रकारहरुको साझा संस्था पत्रकार महासंघले भने प्रविधिकै प्रयोग गरेर भएपनि संसारलाई जोड्ने प्रयास ग¥यो ।
पत्रकार महासंघको भवनमा ठुलो सभाहल । अग्रपंक्तीमा बसेका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र सरकारी कार्यालयका प्रमुखहरु । उनीहरुबाहेक पछिल्लो पंक्तिमा केही पत्रकार मात्रै । सामाजिक दुरी कायम गर्दै व्यवस्थापन गरिएको बसाई । न कुनै औपचारिक भाषण नत आसनकै व्यवस्था । नेपालको पर्यटनमा कोरोना महामारीले पारेको प्रभाव र त्यसबाट उठ्नका लागि आँफैले प्रयास गर्नुपर्छ भनेर महासंघले एउटै मञ्चमा एउटै व्यक्तिबाट ५० देशका राष्ट्रियगान गुञ्जायो ।
नेपाल चिनाउन विश्व यात्राको अभियान थालेका गायक रामजी नेपालीले ५० देशका राष्ट्रिय गान गाए । त्यहाँ गाईएका सबै गीतको सामाजिक सञ्जाल तथा स्थानीय सञ्चारमाध्याममार्फत प्रत्यक्ष प्रसारण भैरहेको थियो । ‘हामीले नगरे कस्ले गर्छ, पत्रकारले सिर्जनात्मक सन्देश जाने काम पनि गर्नुपर्छ’ पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष भन्छन् ‘यो पर्यटनमा नयाँ उर्जा ल्याउनका लागि गरिएको प्रयास हो ।’
विभिन्न २५ देशका राष्ट्रगान गाउँदै सन् २०१५ देखि विश्वयात्रामा निस्केका रामजी नेपालीले विश्व पर्यटन दिवसका अवसरमा ५० देशका राष्ट्रगान गाउए । उनले गाउँदा हर्षित मुद्रामा सबैले प्रशंसा गरे । नेपालीले ‘विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावना’को सन्देशसहित थालेको विश्वयात्रामा साथ दिन र पर्यटनमा उर्जा सिर्जना गर्न एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जाईएको महासंघका सचिव राम थापा ‘अविरल’ले बताए ।
‘यो अद्भुत क्षमताले हाम्रो पहिचान बनाउँछ, आजको प्रयासले हाम्रो समृद्धिमा सहयोग गर्छ’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने ‘प्रयास साना हुन्छन् तर त्यसको प्रभावको हामीले मुल्यांकन गर्न सक्नुपर्छ ।





