बागलुङ, ११ असोज– जिल्ला प्रहरी कार्यालय बागलुङले आईतबार विभिन्न मुद्दामा अदालतले फैसला सुनाएर भुक्तान गर्न बाँकी रहेका २१ जनालाई पक्राउ गरेको छ । बहुविवाह मुद्धामा ५ हजार जरिवाना र एक वर्ष कैद सजाय बाँकी रहेका बरेङ गाउँपालिका–३ का घनश्याम पौडेल र कोपिला पौडेल पक्राउ परेका छन् ।
लागुऔषध मुद्धामा ६ महिना कैंद र २ हजार जरिवाना भुक्तान बाँकी रहेका निसीखोला गाउँपालिका–६ का कुमार बुढा मगर र सोही ठाउँका ४ महिना १६ दिन कैद र २ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका सुर्य बहादुर बुढा पक्राउ परेका छन् ।
डाँका मुद्दामा २० वर्ष कैद र ७ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएका निसीखोला गाउँपालिका–३ का मानबहादुर शाही, गाली बेइज्जती मुघामा एक सय रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका ढोरपाटन नगरपालिका–८ का टेक बहादुर कामी पनि पक्राउ परेका छन् । सवारी ज्यान मुद्दामा २४ दिन कैद र एक हजार जरिवाना बाँकी रहेका ढोरपाटन नगरपालिका–४ का गोविन्द बिक तथा ८ दिन कैद र २ हजार रुपैयाँ जरिवाना बाँकी रहेका काठेखोला–१ का शशिलाल थापा पक्राउ परेका छन् ।
त्यस्तै, जर्बजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका ढोरपाटन नगरपालिका–४ का धरबहादुर अर्गेजा र २ वर्ष ६ महिना कैद तोकिएका सोही नगरपालिकाको वडा नं. २ का अर्जुन कुँवर पक्राउ परेका छन् । केही सामाजिक अपराध मुद्दामा बडिगाड गाउँपालिका–७ का गोपाल बिक, गलकोट नगरपालिका–४ का दुर्गा बहादुर मल्ल, काठेखोला गाउँपालिका–७ का साहिल नेपाली र डिल बहादुर कुँवर, जैमिनी नगरपालिका–५ का राम शर्मा र गलकोट नगरपालिका–११ का गोपी राजबंशी पक्राउ परेका छन् । उक्त मुद्दाका सबै अभियुक्तहरुले ५ सयदेखि ४ हजार ८ सय ५० रुपैयाँसम्म जरिवाना भुत्तान गर्न बाँकी छ ।
जालसाजी मुद्दामा १ लाख २५ हजार जरिवाना भुक्तान गर्न बाँकी जैमिनी नगरपालिका–२ का सुरेन्द्र सापकोटा, ४ हजार १ सय ६६ रुपैयाँ जरीवाना तोकिएका काठेखोला गाउँपालिका–३ का थम्मन बहादुर बिक र सोही जरिवाना तोकिएका भविलाल कार्की पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
लुटपाट मुद्दामा जिल्ला अदालत बागलुङले ३२ हजार ५ सय जरिवाना सुनाएका निसीखोला गाउँपालिका–६ का आशे बुढा र नकाव चोरी मुद्दामा एक हजार रुपैयाँ जरिवाना तोकिएका काठेखोला गाउँपालिका–५ का हर्क बहादुर सुनारलाई नियन्त्रण लिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । उनीहरुलाई आईतबार नै जिल्ला अदालत बागलुङमा पेश गरिएको छ । कैद र जरिवाना भुक्तान गर्न बाँकी सबैलाई प्रक्रियागत रुपमा कारागार वा भुक्तानपछि घर पठाईने रेग्मीले बताए ।





