पोखरा, १२ असोज– देश कोरोना कहरमा फसेसँगै मानिसको आस्था घरमा थुनिन बाध्य छ । कारण, मठ–मन्दिर, चैत्य, गुम्बा, मस्जिद, चर्चहरु बन्द गर्ने आदेश छ । सार्वजनिक यातायात, सपिङ मलहरु खुल्दा पनि बढी भीड हुने भन्दै धार्मिक स्थलहरु खोलिएको छैन । धार्मिक स्थल नखोलिँदा मान्छेको मन अमिलिएको छ । हिन्दुहरुको चाडबाड नजिकिँदै गर्दा मन्दिरहरु कहिले खुल्छन् भन्ने चासो पनि बढ्दै गएको छ । तर, सरकारी निर्णय आएको छैन । सरकारी निर्णय नआउँदा पोखरामा नवरात्रीमा निकालिने विन्ध्यवासिनी शोभायात्रासहितका कार्यक्रमहरु हुने÷नहुने भन्नेमा द्धिविधा उत्पन्न भएको छ । विन्ध्यवासिनीको मूल गेटमा लागेको ताला प्रशासनको अनुमति बिना नखुल्ने निश्चित छ ।
तर, संस्कृति र परम्पराको संरक्षणको लागि सुरक्षा सर्तहरु पालना गराउँदै विन्ध्यवासिनी शोभायात्रा तथा मन्दिर खुल्ला राख्नुपर्ने पक्षमा जनमत बढेको छ । त्यो जनमतको दवाव विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिमाथि पनि परेकै छ । ‘हो हामीलाई भक्तजनहरुले संस्कृति र परम्परा निरन्तरताको लागि दवाव दिनुभएको छ’, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले ढोरपाटनसँग टेलिफोनमा भने,‘ सपिङ मलहरु निर्वाध खुल्ला हुँदा र त्यहाँ थामिनसक्नु भीड हुँदा आस्थावान मान्छेले चासो राख्नुलाई हामीले अस्वभाविक मानेका छैनौं ।’ आस्था र संस्कृति जिवन्त समाजको अंग भएको बताउँदै उनले भक्तजनहरुको आग्रहलाई आफूहरुले प्रशासनसम्म पु¥याएको तर के गर्ने भन्नेबारे निर्णय नभएको जानकारी दिए ।‘हामीले परम्परालाई निरन्तरता दिन निश्चित मान्छेसहित सामाजिक दूरी कायम गर्दै शोभायात्रा निकाल्न कास्की प्रशासनसँग अनुमति मागेका छौं’,उनले भने,‘ कास्की प्रशासनले गृह मन्त्रालयसँगको समन्वयमा निर्णय गर्ने जानकारी दिएको छ, हेरौं के हुन्छ !’ उनले विन्ध्यवासिनीसँग आस्था मात्रै नभएर पर्यटन पनि जोडिएको बताउँदै सुरक्षा मापदण्ड अपनाउँदै अब मन्दिर खुल्ला गर्नेतर्फ प्रशासनले ध्यान दिनुपर्ने बताए ।





