सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

घरेलु मदिरासंग त्रसित प्रहरी !

घरेलु मदिरासंग त्रसित प्रहरी !

जिल्ला प्रहरीअन्र्तगतका प्रहरी चौकी तथा युनिटहरुले बरामद गरिएको चार हजार ३४ लिटर मदिरा सोमबार नष्ट गरिएको छ ।


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७७, सोमबार

बागलुङ, १२ असोज– बागलुङमा प्रहरी प्रमुख फेरिएपछि चल्ने अभियान यसपटक पनि दोहोरिएको छ । अरु बेला विरलै जफत हुने घरेलु मदिरा प्रहरी प्रमुख फेरिएलगत्तै अभियानकै रुपमा जफत र नष्ट गर्ने प्रचलन बागलुङमा छ ।
यसअघिका चार जना प्रहरी प्रमुखहरुले सदरमुकाम र आसपासमा मात्रै चलाएको यो अभियान यसपटक जिल्लाको प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले भने दुरदराजसम्म चलाएका छन् । दुई वर्षअघि प्रहरी उपरीक्षक नवराज भट्टले बागलुङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने बेला स्थानीयले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका थिए । प्रहरी प्रमुख फेरिने बेलामात्रै मदिरा बरामद र नष्ट गर्नु नयाँ प्रमुख आएको संकेत मात्रै भएको उनीहरुको भनाई थियो ।
प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरीको सरुवापछि जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका श्रेष्ठको निर्देशनमा यतिबेला जिल्लाका प्रहरी युनिटहरुले मदिरा जफत र नष्ट गर्ने गरिरहेका छन् । यहि अभियानकै क्रममा जफत भएको चार हजारभन्दा बढी अबैध घरेलु मदिरा जिल्ला प्रहरी कार्यालयले नष्ट गरेको छ । जिल्ला प्रहरीअन्र्तगतका प्रहरी चौकी तथा युनिटहरुले बरामद गरिएको चार हजार ३४ लिटर मदिरा सोमबार नष्ट गरिएको छ ।
प्रहरी निरीक्षक हेम केसीका अनुसार, नष्ट गरिएको मदिरामध्ये एक हजार ६२ लिटर बिक्रिका लागि तयारी मदिरा र दुई हजार ९७२ लिटर घरेलु मदिराको कच्चा पदार्थ हो । जुन सबै मदिरा गाउँघरका गरिब परिवारले गुजाराका लागि तयारी गर्दै गर्दा बरामद भएको थियो ।
अन्य समयमा चुपचाप रहने प्रहरी प्रमुख फेरिएलगत्तै घरेलु मदिरामा आँखा लगाउने गरेकोमा सर्वसाधारणको गुनासो छ । प्रहरी चौकी निसीखोलाले १९२ लिटर, प्रहरी चौकी ग्वालिचौरले १२० लिटर मदिरा, जिल्ला प्रहरी कार्यालयले ४१५, नगर प्रहरीले एक हजार ४१५ लिटर, प्रहरी चौकी कुँडुले र पञ्चकोटले २२०, प्रहरी चौकी मालढुंगा ७१५, इलाका प्रहरी ताराखोला ९०, प्रहरी चौकी हटिया ४५०, प्रहरी चौकी नरेठाटी २८०, इलाका प्रहरी भिमगिठे ३५० लिटर, इलाका प्रहरी झिवाखोला ७०, प्रहरी चौकी बोङ्गादोभान ७८ र प्रहरी चौकी ग्वालीचौर ३० लिटर घरेलु मदिरा बरामद गरिएको थियो ।
प्रहरीले समाजमा कानूनले बर्जित गरेको अबैध घरेलु मदिराको सेवनबाट झैझगडा तथा अशान्ति फैलिएकाले नियन्त्रणमा लिइरहेको बताउने गरेको छ । घरेलु मदिराको कच्चा पदार्थमा अखाद्य वस्तुहरु जस्तै फलफूलका बोक्रा, कपडा तथा कुहिएको खाना प्रयोग गरिएको पाइएको प्रनि केसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->