शारीरिक वा मानसिक रुपमा प्रतिस्पर्धा वा मनोरञ्जनका निमित्त गरिने क्रियाकलाप खेलकुद हो । शारीरिक तन्दुरुस्ती कायम गर्नका लागि एउटा राम्रो उपाय हो खेलकुद । नेपालका खेलकुद गतिविधिलाई सञ्चालन गर्ने प्रमुख संस्थाका रुपमा राष्ट्रिय खेलकुद परिषद् रहेको छ । फुटबल गतिविधि सञ्चालन गर्ने संस्था भने विश्व फुटबलको सर्वोच्च निकाय फिफाको सदस्यको रुपमा एन्फा रहेको छ । खेलकुदले राष्ट्र–राष्ट्रबीच मित्रता कायम गर्दछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खेलमा खेलले राष्ट्रको प्रतिनिधित्व गरेको हुन्छ । खेलभित्र अनुशासन हुन्छ र कैयौँ नियम र मान्यताहरु हुन्छन् । खेलमा राष्ट्रियता र राष्ट्रप्रेम झल्किएको हुन्छ । विभिन्न कालखण्डमा बाधा अड्चन पनि आईलाग्छन् ।
त्यस्तै नेपाली फुटबलले बेला–बेलामा विभिन्न संकटहरुको सामना गरिराख्नु परेको छ । कहिले भूकम्प त, कहिले राजनीतिक अस्थिरता र अहिले कोरोना महामारीको मार खेप्नु परेको छ । २०७२ सालको भुकम्पले दशरश रंगशालालाई क्षति पु¥यायो । अन्य रंगशालाको अभावमा अखिल नेपाल फुटबल संघले लिग आयोजना गर्न सकेन । तत्कालिन समयमा चलिरहेको नेशनल लिग जेनतेन एन्फाले आफ्नो मैदानमा सम्पन्न ग¥यो । र, विजेता बन्यो थ्रि स्टार क्लब त्यसपछि नेपालमा केही वर्ष लिग हुन सकेन । केही वर्षको विश्रामपछि २०७५ सालमा बिना रेलिगेशनको लिग सञ्चालन गरेर नेपाली फुटबललाई फर्कायो । २०७६ सालमा भने एक टिमलाई रेलिगेशन गर्नेगरी लिग सम्पन्न ग¥यो र शीर्ष छ टिमलाई नेशनल लिगमा सहभागी हुने अवसर प्रदान गर्ने घोषणा गरेको थियो तर अहिलेको कोरोना महामारीले यसलाई अनिश्चित बनाउँदैछ ।
कोरोना महामारीले सबै क्षेत्रलाई असर पारिरहेको छ । सबै क्षेत्रले आ–आफ्नो दुखेसो पोखेको पाइन्छ तर खेल क्षेत्रलाई भने प्राथमिकतामा नराखिँदा यसले भोगेको पिडा ओझेलमा परिरहेको छ । चलिरहेको बि डिभिजन लिगबीचमै रोक्नुपर्ने अवस्था आयो । खेल क्षेत्रमा आवद्ध भएको सबै खेलकर्मीलाई आफ्नो भविष्यलाई लिएर चिन्ता बढेको छ । विशेषगरी खेलाडी यसको मारमा परेका छन् । लयमा रहेका खेलाडीले उचित स्थान पाउनबाट बञ्चित भएका छन् । मोफसलमा हुने प्रतियोगिताबाट आफ्नो गुजारा चलाउने खेलाडीको पारिश्रमिक गुमेको छ । त्यसो त नेपाली खेलाडीले पर्याप्त पारिश्रमिक पाउन सक्दैनन् । कतिले सोखको लागि खेल खेलेका हुन्छन् भने कतिले खेल्ने स्थान प्राप्त गरेपछि आफ्नो भविष्य बन्ने आशले कम मूल्यमा खेल्ने गर्दछन् । राष्ट्रिय टिममा पर्न कसरत गरेका खेलाडीलाई लकडाउनले ठूलो धक्का दिएको छ । विदेशी खेलाडी अहिले सबैभन्दा बढी मर्कामा परेका छन्, न उनीहरु आफ्नो देशमा फर्कन सकेका छन् न यहाँ खेल खेल्न पाएका छन् । खेल खेलेर दैनिकी चलाउने र जोहो गरेको आम्दानी घर पठाउने खेलाडीको रोजीरोटी गुम्यो । नेपालमा विशेषगरी नाइजेरिया, आइबेरी कोस्ट, क्यामरुनलगायत पछिल्लो समयमा ब्राजिल, जापान, भारतबाट पनि खेलाडी आएर खेल्ने गरेका छन् । उनीहरुमा आफ्नो घर जान हवाई भाडाको अभाव, भिसामा समस्या रहेका छन् भने यही बस्नलाई पनि घरभाडा तिर्न नसक्ने अवस्थामा छन् । नेपाली खेलाडी त सरकारले लकडाउन गर्ने घोषणा गरेपछि आ–आफ्नो घरमा गई परिवारसँग बसे तर विदेशी खेलाडी भने बन्दकोठामा गुम्सिनु प¥यो । एन्फाले तिन सदस्यीय राहत तथा सहयोग समन्वय समिति गठन गरी राहत तथा सहयोग उपलब्ध गरेको थियो । तर यतिमात्र सहयोगले खेलाडीलाई पूर्ण राहत नपुगेको महशुस हुन्छ । कोभिड १९ को महामारीलाई नियन्त्रण तथा रोकथामका लागि आफ्नो भएका केही एम्बुलेन्सहरु ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेर सामाजिक उत्तरदायित्व बहन गरेको छ । एन्फालाई फिफाले कोरोनाबाट निम्तने आर्थिक संकट टार्न पाँचलाख अमेरिकी डलर (छ करोड रुपैँया) सहयोग गरेको छ । विश्व फुटबल महासंघ फिफाले फुटबलको अर्थव्यवस्थामा कोरोना भाइरस महामारीको आर्थिक प्रभाव १४ अर्ब डलरको हुने अनुमान गरेको छ । यसरी हेर्दा फिफा पनि आर्थिक रुपमा संकटग्रस्त हुने देखिन्छ ।
एकातर्फ नेपाली फुटबल क्लबहरुमा आफ्ना खेलाडीलाई कसरी व्यवस्थित गर्ने हो भन्नेमा अन्यौल देखिन्छ । नेपाली फुटबल क्लबहरु आफैमा विगतदेखिनै आर्थिक संकटमा पर्दै आएका छन् । युरोपेली फुटबल क्लबहरु जस्तो नेपाली फुटबल क्लबहरु व्यवसायिक बन्न सकेका छैनन् । उनीहरुले आफ्ना उत्पादनहरु जर्सी, लोगो, स्टिकरहरु व्यावसायिक रुपमा उत्पादनहरु समर्थकहरुलाई बिक्रिवितरण गर्न सकेको देखिन्न । सिमित मात्रमा लिग तथा टुर्नामेन्टका लागि बनाइएका जर्सी खेलाडीहरुका लागि मात्र उत्पादन गर्ने गरेको पाइन्छ । त्यसो त नेपालमा विदेशी क्लब र खेलाडीहरुका समर्थकहरु बढी छन् । विदेशी क्लबहरुको जर्सी बजारमा नेपालमा प्रशस्त पाइन्छन्, त्यसको लागि ग्राहक पनि भेटिन्छन् तर नेपाली क्लब जर्सी बजारमा भेटिदैनन् र ग्राहक पनि त्यति हुँदैनन् । नेपाली राष्ट्रिय टिमको जर्सीको माग भने बजारमा भेटिन्छ । त्यो पनि नेपालले सहभागी भएको अन्तर्राष्ट्रिय खेलहरु भएको बेलामा मात्र माग बढ्छ । नेपाली फुटबल क्लबहरुको प्रमुख आयस्रोत भनेको प्रायोजकहरु नै हुन् तर प्रायोजक सहप्रायोजकहरुबाट प्राप्त रकमबाट पनि क्लबको खर्च धान्न मुस्किल हुन्छ । धेरैजसो नेपाली फुटबल क्लबहरुको आफ्नै भवन छैनन् । भवन र मैदान स्वयम् आफैसँग नहुदाँ जग्गा भाडामा लिई दैनिक अभ्यास गराउनु परेको देखिन्छ ।
फुटबल क्लब चलाउन पनि व्यवस्थापकीय सीप, शैली र क्षमताको आवश्यकता पर्दछ । जसमा खेलाडी र क्लब परिवारबीच आपसी समन्वय कायम गर्न सहज होस् । नेपाली फुटबल क्लब र प्रशिक्षकमा आफ्नो अनुकुल रिजल्ट आए खेलाडीलाई प्रशंसा गर्ने, उत्प्रेरित व्यवहार गर्ने तर आफ्नो विपरित रिजल्ट आए खेलाडीलाई गाली गर्ने दोष दिने व्यवहार देखा पर्दछन् । यो व्यवस्थापकिय शैलीको हिसाबबाट राम्रो पक्ष होइन यसको लागि उत्प्रेरित शैलीहरु अपनाउनु पर्दछ ।
अर्कोतर्फ नेपाली फुटबललाई क्रियाशिल बनाउने र गति दिने संस्था एन्फामा पनि विभिन्न बेतिथिहरु रहेका छन् । एन्फाभित्र अनावश्यक राजनीति हावी हुनु, गुण्डागर्दी बढ्नु, अपारदर्शिता मौलाउनु, गुट उपगुट निर्माण हुनु, खेलाडी छनौटमा नाताबाद हावी हुनु, हरेक गतिविधिमा जिम्मेवारीबाट पछि हट्नु, अनुशासन तथा आज्ञापालनको अभाव हुनु, कार्यालयका गतिविधिलाई प्रविधीमैत्री बनाउन नसक्नु, दक्ष जनशक्तिलाई भर्ना गर्न नसक्नु, निष्पक्षताको अभावजस्ता गलत अभ्यास मौलाएको पाइन्छ । जसले गर्दा खेलाडीको भविष्य धरासायीमा परेको समेत महशुस गरिन्छ । फुटबलको स्तर बढोस् वा घटोस् त्यसमा कुनै मतलब भएन तर आफ्नो पद नगुमोस् भन्ने प्रवृत्तिले गर्दा नै नेपाली फुटबलले सोचेजस्तो प्रगति गर्न नसकेको हो । यस्ता बेतिथि अन्त्य गरी फुटबलभित्र सुशासन कायम गर्न सके मात्र नेपाली फुटबलले नयाँ गति लिन सक्छ । फुटबल सौन्दर्यको एउटा प्रमुख अंग हुन समर्थकहरु । समर्थकबिना फुटबलको गतिशिलता र रोमाञ्चकता अपूरा हुन्छन् । खेलाडीलाई उत्प्रेरित बनाउने प्रमुख आधार नै समर्थकहरु नै हुन् । समर्थकलाई खुशी पार्न खेलाडीहरु दिनरात मेहनत गर्दछन् । यसको प्रभाव तथा परिणाम खेलमा देखा पर्दछ । तसर्थ समर्थकको प्रेम र त्यागलाई पनि सबैले मनन् गनुपर्दछ ।
युरोपेली फुटबल प्रतियोगिताहरु मार्चमा बन्द गरेर जुनमा सुचारु गरी लिग सम्पन्न गरेर हाल युरोपेली लिगहरु बन्द रंगशालामा दर्शकबिना नै लिग शुरुवात गरिरहेका छन् । खेलकुद क्षेत्रलाई निरन्तरता दिनु, बढीभन्दा बढी प्रतियोगिता सम्पन्न गर्नु नै विकास हो । यसलाई एन्फा, सरकारलगायत सबै क्लब, सारोकारवाला निकाय, खेलप्रेमीले बुझ्नु पर्छ । नेपाल सरकारले साबधानी अपनाएर र स्वास्थ्य मापदण्ड अपनाएर खेलकुद सञ्चालन गर्न अनुमति दिनुपर्ने देखिन्छ । एन्फाले सरकारसँग अनुमति मागेर तत्काल कोरोना महामारीबाट सृर्जित समस्याहरुको सम्बोधन गर्दै विभिन्न नियम तथा निर्देशिकाहरु तयार गरी नेपाली फुटबललाई फर्काउनु पर्ने देखिन्छ ।
कजबचmबवजबबिपउपच२नmबष्।िअयm





