बागलुङ, १५ असोज– अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेष्ठनागरिकहरुलाई शुभकामना दिएका छन् । आफू भन्दा ठूलालाई सम्मान र आदन गर्ने हाम्रो संस्कार भएको भन्दै उनले सबैले जेष्ठ नागरिकको आदर गर्नुपर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन् । मुख्यमन्त्री गुरुङले सबैका अभिभावका रुपमा रहेका ज्येष्ठ नगरिकहरुले जीवनको उर्जाशीलताले समयमा कुनै न कुनै तरिकाबाट राष्ट्र र समाजको लागि पु¥याएको योगदानको उच्च सम्मान गर्दै शुभकामना दिएका हुन् ।
‘ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको घोषणा वमोजिम सन् १९९१ देखि हरेक बर्ष अक्टुवर १ तारिखका दिन विभिन्न कार्यक्रमसहित यो दिवस मनाउन थालिएको हो ।’, शुभकामना सन्देशमा भनिएको छ ।
मुख्यमन्त्री गुरुङले जीवन यात्राका क्रममा हामी पनि ज्येष्ठ नागरिक हुन्छौँ भन्ने ठानी उनीहरुलाई सम्मान, आदार र माया गर्नु हामी सवैको कर्तव्य भएको बताएका छन् । उनले भनेका छन्,‘आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभवहरु हम्रा लागि अमूल्य सम्पति हुन् र यीनले हामी नयाँ पुस्तालाई निरन्तर मार्गनिर्देश गरिरहनेछन् भन्ने विश्वास लिएको छु ।’





