पोखरा, १५ असोज– गण्डकी प्रदेशको अब आफ्नै प्रहरी हुने भएको छ । बुधबार गण्डकी प्रदेश प्रहरीको सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट पारित भएपछि अब सरकारलाई आफ्नै पुलिस राख्ने बाटो खुलेको हो । यसअघि संघीय सरकारले पनि प्रदेशहरुलाई प्रहरी राख्न पाउने बाटो खुलाइदिएको थियो । लामो समयदेखि प्रदेशहरुले आफ्नै प्रहरीको माग राख्दै आएका थिए । आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानबाट पेश भएको विधेयक बहुमतले पारित भएको हो । यसअघि जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले प्रदेश प्रहरीको सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक संशोधन गर्न राखेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । उनले प्रहरी विधेयकमा प्रहरी संगठनमा ३३ प्रतिशत महिला प्रहरीको ज्ञारेन्टी गर्नुपर्ने तथा छुट्टै महिला सेल राख्नुपर्ने र दलितलाई प्राथमिकता दिइनुपर्ने र प्रहरी जनता प्रतिउत्तरदायी हुनुपर्ने ३ बुँदे सशोधन प्रस्ताव राखेका थिए । प्रदेश प्रहरीको सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयकमाथि बुधबार संसदमा दफावार छलफल भएको थियो ।





