पोखरा, १६ असोज– गण्डकी प्रदेश सरकारले लेखनाथमा स्थापित संक्रामक तथा सरुवा रोग अस्पतालका कर्मचारीहरुको दायित्व बहन गरेको छ । गण्डकी मन्त्रिपरिषद्को अघिल्लो शुक्रबार बसेको बैठकले त्यहाँ कार्यरत ३० जना कर्मचारीहरुलाई अहिले नेपाल सरकारले दिँदै आएको सेवा सुविधा आफै दिने निर्णय गरेको हो । सो अस्पतालको दायित्व प्रदेश सरकारले लिएपछि त्यहाँका कर्मचारीहरुले तलब नपाएको गुनासो गरेका थिए । कोरोना संक्रमण बढ्दै गएपछि लेखनाथ लायन्स सामुदायिक अस्पतालको स्वामित्व प्रदेश सरकारले लिएको हो ।
यसैगरि गण्डकी प्रदेश सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार कार्यविधि २०७७ स्वीकृत गरेको छ । कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार कार्यविधि २०७६ मा व्यवस्था भएको कोषको दायरा फराकिलो बनाउनुपर्ने, कोष संचालक समितिमा सदस्य थप्नुपर्ने, कोषको बैंक खाता फेर्नुपर्ने तथा कोषको रकम खर्च गर्ने कार्यविधिलाई संशोधन गर्नुपर्ने भएकाले यो निर्णय गरिएको अघिल्लो शुक्रबारको निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
यता, गण्डकी सरकारले गण्डकी प्राविधिक तथा व्यवसायिक शिक्षालय मोतिलाल शर्मालाई कार्यकारी निर्देशक चयन गरेको छ । नयाँ व्यवस्था नभएसम्म सामाजिक विकास मन्त्रालयका दशौं तहका कर्मचारीलाई नै सो जिम्मेवारी दिने निर्णय गरिएको मन्त्री बस्नेतले बताए ।
मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय तथा मातहतका कार्यालयहरुमा स्वीकृत दरबन्दी अनुसारका प्राविधिक पद खाली भएको ठाउँमा स्थायी वा अन्य प्रक्रियाबाट पदपूर्ति भएमा स्वतः हट्ने गरि गरि सेवा करारमा प्राविधिक जनशक्ति छनौट गर्ने बाटो पनि फुकाएको छ । यसको लागि सेवा करारमा प्राविधिक जनशक्ति छनौट गर्न प्रदेश सरकारले बनाएको जनशक्ति सम्बन्धी कार्यविधि २०७६ को केही दफा÷उपदफा संशोधनको गर्दै पहिलो संशोधन कार्यविधि २०७७ स्वीकृत गरिएको मन्त्री बस्नेतले जनाए ।





