पोखरा, १६ असोज- पोखराको सेती नदीमा खसेर एकजनाको मृत्यु भएको छ । पोखराको पृथ्वीचोकमा रहेको चाइना पुलबाट शुक्रबार बिहान सवा ९ बजेतिर सेती खोँचमा खसेका अन्दाजी २२ वर्षीय युवाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पुलतल मान्छे खसेको खबरपछि प्रहरीले परिचय नखुलेका उनको उद्धार गरेको थियो । तर, अस्पतालले घाइतेलाई बचाउन सकेन । यता, पोखरा–१९, रैकर सिम्लाथर बस्ने ७० वर्षीय टेकनाथ पौडेल घरभन्दा २ किलोमिटर पर मर्दीखोला दोभानमा मृत अवस्थामा भेटिएका छन् । शुक्रबार बिहान ४ बजेतिर घरबाट निस्केका उनको शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।





