पोखरा, १७ असोज- पोखराको वडा नं १८ स्थित खपौँदीमा फेवा किसान बजार खुलेको छ ।
कृषकहरुले उत्पादन गरेका उपभोग्य वस्तुहरु सहज र सिधा उपभोक्तासम्म पु¥याउनका लागि पोखरा महानगरपालिकाको सहयोग र स्थानीय कृषकहरुसँगको साझेदारीमा बजार सञ्चालनमा आएको हो ।
महानगरका प्रमुख मानबहादुर जिसीले शुक्रबार बजारको उद्घाटन गरे । सो अवसरमा उनले पोखरामा दैनिक ३ करोड मुल्य बराबरको तरकारी खपत हुने गरेको दृष्टान्त सुनाउँदै करौडौं रकम बाहिरिनबाट जोगाउनका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै महानगरका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले कृषकहरु विचौलीयाका कारण पीडित भएकाले यस्तो बजारको कल्पना गरिएको बताए ।
पोखराको वडा नं १८, २३ र २४ का कृषकहरुलाई लक्षित गरी विक्री केन्द्र सञ्चालनमा ल्याईएको उनले जानकारी दिए । उत्पादनले बजार नपाएको भनेर कृषकहरुले सधै गरिरहने गुनासो केहि हदसम्म सम्बोधन हुने कडरियाको विश्वास छ । कृषकले गरेको उत्पादनको आधारमा अनुदानको व्यवस्था गरिने उनले बताए ।
पोखरा महानगरको लोगो सहितको प्याकेजिङ र ब्रान्डीङ गरी कृषि उपज विक्री गरिने उनको भनाई छ । कडरियाका अनुसार साना कृषकहरुसंग साझेदारी गरेर पोखराको चिप्लेढुङ्गास्थित श्री कम्पलेक्समा कृषि उपज पु¥याउने व्यवस्था महानगरले गर्नेछ । किसान बजारमा स्थानीय उत्पादनहरु, पोखरेली जेठोबुढो, विभिन्न तरकारी, विभिन्न व्यवसायिक फर्महरुबाट उत्पादिन उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिएका छन् ।





