बागलुङ, १८ असोज–बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितहरुका लागि पोखरामा संगठिन आमाहरुले राहत सहयोग गरेका छन् । पोखरा महानगरपालिका–१७ मा संगठित आमाहरु राहत रकम र खाद्यान्न बोकेर पोखरादेखि ढोरपाटन पुगेका हुन् ।
जनजागरण आमा समूहमा संगठिग महिलाहरुले भईपरि आउने बेला सहयोग गर्ने कोष नै बनाएका छन् । त्यहिं कोषको रकमबाट खाद्यान्न र नगदसमेत पीडितहरुलाई उपलव्ध गराईएको हो । आमा समूह विपद कोषमार्फत समूहका सल्लाहकार देवी थापाको संयोजकत्वमा पोखराबाट गएको टोलीले प्रभावितको समस्या बुझेर राहत दिएको हो ।
बाढी–पहिरोमा परी मृत्यु भएका परिवार तथा प्रभावितलाई ६० हजार बराबरको लत्ताकपडा, खाद्यान्न सामग्री र बस्ती निर्माण अभियानमा सघाउन ३० हजार रुपैयाँ नगद नगरपालिकामार्फत पीडितलाई उपलव्ध गराएको थापाले बताइन् ।
समुहले ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीलाई सामग्री र चेक हस्तान्तरण गरेको अभियानका संयोजक थापाले बताइन् । मेयर नेपालीले आफ्नो क्षेत्रमा परेको विपत्को समयमा समूहले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै बिषम परिस्थीतीमा हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।
समूहका सदस्यहरु अन्जु क्षेत्री र पबित्रा पोख्रेललगायतले बाढी पीडितहरुको आँगनमा पुगेर सहयोग गर्न पाउँदा आत्मसन्तुष्टी मिलेको बताए ।





