
पोखरा, १९ असोज– जनपत्रकार शहीद महेश पहारीको १६ औ स्मृति दिवस आज पोखरामा मनाइएको छ । पहारीको बुद्धचोकस्थित घरमा पुगेर शहीदको तस्वीरमा माल्र्यापण गरी स्मरण गरे ।
कार्यक्रममा पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं नेकपा गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारीले शहीद,घाइते तथा बेपत्ता योद्धाहरुको परिवारको व्यवस्थापनका लागि पार्टीभित्र छुट्टै विभाग आवश्यक रहेको बताए ।
पार्टीका प्रदेश कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले शहीदका परिवारलाई सुविधा, सन्ततीलाई शिक्षा दिक्षा लगायतमा जनप्रतिनिधिहरुले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । सभामा नेकपाका केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज राजकाजी गुरुङ, गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति दीपक कोइराला, नेकपाका सचेतक गायत्री गुरुङ, प्रदेश सभा सदस्य रामजी बराल, संविधानसभा सदस्य तेजकुमारी पौडेल, पार्टी जिल्ला सचिव बखानसिँह गुरुङ, महानगर कमिटीका सचिव विश्वप्रकास लामिछाने, राष्ट्रिय युवा संघका नेता सुमन देवकोटा, प्रेस संगठनका जिल्ला सहसंयोेजक सन्देश श्रेष्ठ शहीदको तस्वीरमा माल्यार्पण तथा परिवारजनसँग भेट गरेका थिए । नेकपा पोखरा महानगरपालिका वडा कमिटी १० का अध्यक्ष सूर्य बानियाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सीता तिमिल्सनाले गरेकी थिइन् । पोखराबाट प्रकाशित हुने तत्कालीन स्वाभिमान साप्ताहिकमा आवद्ध पहारीलाई माओवादीको अभियोगमा विसं २०६० मा सुरक्षाकर्मीले कास्कीको ल्वाङघलेलबाट गिरफ्तार गरी कारागार चलान गरेकामा उनको विसं २०६२ मा असोज १८ गते निधन भएको थियो ।





