पोखरा, २० असोज– जिल्ला समन्वय समिति कास्कीले पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यामिक विद्यालयको निर्माणाधिन भवनको आज अनुगमन गरेको छ ।नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) को ७४ लाख ३५ हजार रुपैयाको लागतमा निर्माणधिन भवनको समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, जिल्ला आयोजना कार्यान्वय इकाई(शिक्षा) प्रमुख लालप्रसाद पोख्रेल, जनप्रतिनिधिहरु समेतले संयुक्तरुपमा निर्माण कार्यको अनुगमन गरेका हुन् ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख लालप्रसाद पोख्रेलका अनुसार भूकम्पपश्चात कास्की जिल्लामा दुई अर्व रुपैया भन्दा बढी रकमको लागतमा विद्यालयको भौतिक संरचना निर्माण भइरहेको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा एवम् भौतिक विकासमा स्थानीय श्रोत साधनको भरपुर उपयोग गरिदै आएको बताए । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम भण्डारी, निर्माण समितिका संयोजक नगेन्द्र गुरुङ, प्रधानाध्यापक अर्जुन कंडेल लगायतले विद्यालयका गतिविधि माथि प्रकाश पारेका थिए । विद्यालयमा हाल दुई सय ८० जना विद्यार्थी अध्ययनरत छन् ।





