मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

किन थाल ठटाए पि.एन का आंशिक प्राध्यापकहरुले ?

किन थाल ठटाए पि.एन का आंशिक प्राध्यापकहरुले ?

क्याम्पसको मूल गेटमा धर्ना बस्दै आएका उनीहरूले आफ्ना मागका विषयमा विश्वविद्यालय गम्भीर नभएको भन्दै थाल ठटाएर प्रदर्शन गरेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०७७, बुधबार

पर्वत, २१ असोज– सहमति कार्यान्यवन गरिनुपर्ने माग गर्दै पोखरामा रहेको पि.एन. क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरुले बुधबार थाल ठटाउँदै प्रदर्शन गरेका छन् ।
आफूहरूलाई शिक्षण सहायक (त्रि.वि करार) पदमा परिणत गरिनुपर्ने माग गर्दै आइरहेका उनीहरुले क्याम्पसभित्र थाल ठटाउँदै आफ्ना मागहरु पूरा गर्न क्याम्पस प्रशासनलाई दवाब दिएका हुन् । गत सोमबारदेखि क्याम्पसको मूल गेटमा धर्ना बस्दै आएका उनीहरूले आफ्ना मागका विषयमा क्याम्पस प्रशासन र त्रिभुवन विश्वविद्यालय गम्भीर नभएको भन्दै थाल ठटाएर प्रदर्शन गरेका हुन् ।
०७६ साल माघ २० गते आन्दोलनरत आंशिक प्राध्यापक र त्रिविका प्रतिनिधि प्रा.डा. ओमप्रसाद बराल नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग भएको सहमति पालना नगरिएको भन्दै बुधवार थाल ठटाउँदै प्रदर्शन गरिएको एक आंशिक प्राध्यापक विष्णु गौतमले बताए ।
‘हामीले नयाँ माग केही पनि राखेका छैनौँ । पहिले भएको सहमति कार्यान्वयन गरियोस् भनेका छौँ । सहमतिलाई कार्यान्वयन गर्नमा बेवास्ता भएपछि हामीहरू चरणबद्ध आन्दोलनमा छौँ ।’ उनले भने, ‘१४ वर्षदेखि आंशिक प्राध्यापकहरूमाथि आर्थिक, बौद्धिक तथा मानसिक रूपमा चरम शोषण भइरहेको छ ।’
वार्तामा २०६३ सालदेखि आंशिक रूपमा कार्यरत शिक्षकहरूलाई त्रिभुवन विश्वविद्यालयको नियम, सेवा र सर्तसहित आंशिक शिक्षकबाट महिनावारी वेतन खाने गरी शिक्षण सहायकका रूपमा परिणत गर्ने भनिएको थियो ।
प्राध्यापकहरूको अनुभव, निरन्तरता, कक्षा भार, आवश्यकता र औचित्य पुष्टि हुने गरी पारदर्शी, निष्पक्ष र सर्वमान्य सिद्धान्त अनुसरण गरी ०७६ फागुन २० गतेभित्र कार्यान्वयन गर्ने आंशिक प्राध्यापकहरूलाई वेतनमा राख्न सिनेटको पहिलो बैठकबाट करारमा लैजाने सहमति भएको थियो ।
मूल गेटमा धर्नामा बसिरहेका उनीहरूले प्रमुख र सहायक प्रमुखलाई पूर्व सहमति कार्यान्वयन गरेर आफ्ना मागको सम्बोधन नभएसम्म भित्र छिर्न नदिने समितिका अध्यक्ष सुनिल गौतमले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->