काठमाडौं, २१ असोज – सरकारले अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका छन्। शिक्षा मन्त्रीस्तरीय निर्णयबाट त्यो समिति गठन भएको हो ।
प्रा. डा. केसी गत २४ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनमा रहेका छन्। मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उनले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि आज समिति गठन गरिएको हो।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मङ्गलबारको सचिवालय बैठकमा प्रा. डा. केसीको जीवन रक्षाका सन्दर्भमा छलफल हुँदा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकार गम्भीर रहेको बताएका थिए। उनले वार्ताका लागि प्रक्रिया शुरु भइसकेको जनाएका थिए। बैठकले कोरोना महामारीको विषम स्थितिमा अनशन अन्त्य गराई वार्ताबाट समस्याको समाधान गर्न प्रा. डा. केसीलाई आग्रह गरेको थियो। सरकारले प्रा. डा. केसीका अधिकांश माग पूरा भइसकेको जनाउँदै आएको छ।





