पोखरा २२ असोज –नजिकिँदै गरेको दशैं–तिहारको बेला हुनसक्ने सम्भावित अपराध नियन्त्रणको लागि कास्की प्रहरीले ‘एम्बुस चेकिङ’ गर्ने भएको छ । चाडपर्व नजिकिँदै गर्दा आपराधिक घटनाहरु घट्न सक्ने कुरालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षाको लागि निरन्तर चेकजाँच गर्ने भएको हो ।
चाडपर्व विशेष सुरक्षा योजनाको बारेमा जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुवाष हमालले बुधबार सो जानकारी दिएका हुन् । विगतका चाडपर्वहरुमा हुने गरेका घटनालाई अनुसन्धान गर्दै विशेष सुरक्षा योजना बनाएको उनले बताए । कोरोना भाइरस महामारीले गर्दा मानिसहरु वेरोजगार हुँदा चोरीको घटनामा वृद्धि हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै चोरी डकैती तथा लुटपाटलाई निरुत्साहित गर्न प्रहरीले १० समूहमा टाक्सफोर्स समेत तयार गरेको छ । सो समूहले जिल्लाका विभिन्न स्थानमा गस्तीसहित सूचना संकलन गरी आवश्यक सुरक्षा दिने छ ।‘कोभिडको कारण मानिसहरु वेरोजगार भएका छन । चोरीका घटना बढ्न सक्ने हुँदो चोरी नियन्त्रण तथा रोकथामको लागि १० टिम बनाएका छौ’ प्रवक्ता हमालले भने । चाडपर्वको समयमा घटना हुन नदिन प्रहरीले २४ घण्टानै सुरक्षा दिनेछ ।
सम्भावित घटना हुने स्थान तथा शंकाष्पद व्यक्तिलाई निगरानीमा राख्दै सादा पोशाक, मोबाइल प्रहरी, पेट्रोल प्रहरी तथा पोशाक प्रहरी परिचालन गर्नेछ । कास्की मातहतमा रहेका वडा तथा इलाका प्रहरी कार्यालयबाट चस्त रुपमा सेवा दिने उनले बताए । नागरिकलाई चाडवाडको बेला सुरक्षा र घटनाबाट जोगाउने प्रयास गर्ने प्रवक्ता हमालको भनाई रहेको छ । उनका अनुसार चाडवाडमा जघन्य अपराध हुनसक्ने भन्दै विभिन्न टिम गठन गरी एम्बुस चेकिङलाई प्राथमिकतामा राखिने भएको हो । चाडपर्व मनाउन भन्दै विभिन्न व्यक्तिबाट जवरजस्ती चन्दा असुली हुन सक्ने भन्दै त्यस्ता व्यक्तिलाई कार्वाहि समेत गरिने उनले बताए । क्षमता भन्दा बढि यात्रु राखी असुरक्षित यात्रा गराउने तथा सवारी साधनको अभाव देखाई तोकिएकोभन्दा बढी भाढा लिने सवारीलाई समेत कारवाही हुनेछ । कोरोना भाइरसको संक्रमण हुनसक्ने हुँदा धार्मिक स्थलमा अनावश्यक भेला हुन बन्देज लगाइएको पनि कास्की प्रहरीको भनाई छ ।
यता,प्रहरीले सम्भावित अपराध हुनसक्ने क्षेत्रको पनि प्रहरीले पहिचान गरेको छ । चोरी र अपराध क्षेत्रमा च्याङ्ग्रा लुटिने वा बिक्रेतालाई धम्क्याउन सक्नेसम्मका गतिविधिमा प्रहरीले निगरानी राख्ने जनाएको छ । बंैक तथा वित्तीय संस्थाहरुमा लुटपाट हुनसक्ने, कालोबजारी,अवैध रकम असुली हुनसक्नेतर्फ प्रहरी सचेत भएको प्रवक्ता हमालले जानकारी दिए ।





