पोखरा, २३ असोज– पोखराको मुस्ताङचोकमा रहेको नागरिक उड्डययन प्राधिकरणको भवन गण्डकी प्रदेश सरकारले भाडामा लिने भएको छ । मासिक २ लाख रुपैयाँका दरले उक्त भवन प्रदेश सरकारले भाडामा लिने भएको हो । व्यापारिक प्रयोजनको लागि प्राधिकरणले बनाएको उक्त भवन ४ वर्षअघि निर्माण सम्पन्न भए पनि अहिलेसम्म भाडामा जान सकेको थिएन । प्राधिकरणले भवन भाडामा लगाउन ५ पटकसम्म सूचना निकाले पनि कुनै कम्पनीले आवेदन दिएका थिएनन् । कर्मिसियल प्रयोजनको लागि बनाइएको उक्त भवन ठेक्कामा नजाँदा खाली थियो । गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान सम्पर्क कार्यालय खडा गर्न भवन भाडामा लिएको छ । यद्यपि, विमानस्थललाई कुन प्रयोजनका लागि भाडामा लिइएको हो नखुलाइएको पोखरा विमानस्थल प्रमुख भोला गुराँगाईंले बताए ।
प्राधिकरणको आय आर्जनलाई बढाउने हिसाबले नै बनाइएको भवन तयार भइसकेपछि विमानस्थल नियमावली अनुसार त्यसको भाडादर कायम गरेर टेन्डर आह्वान गरे पनि कसैको आवेदन नपरेको उनले बताए । ‘सुरुआति चरणदेखि ४ पटकसम्म टेन्डर ग¥यो तर, कसैको पनि टेन्डर परेन’, उनले भने । उनका अनुसार ऐन अनुसार ३ वर्षका लागि मात्रै भवन भाडामा लगाइएको हुनाले पनि व्यापारिक संस्थाले आवेदन भरेनन् । निजी व्यापारिक कम्पनीले टेन्डर नभरे पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय गण्डकीले लिने गरि मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि उक्त भवन भाडामा जाने भएको हो । विमानस्थल प्रमुख गुराँगाईंले निकट भविष्यमै प्रदेश सरकारसँग भवन भाडाको लागि सम्झौता हुने बताए यसअघि ०७३ मा निर्माण सम्पन्न भएको उक्त भवन बेवास्ताका कारण खण्डहर बन्दै गएको छ । अन्डरग्राउन्डसहित ५ तले भवन ६ करोड चानचुन लागतमा बनेको विमानस्थल बताउँछ । १३ सय १४ दशमलव ९३ स्क्वायर मिटरको उक्त भवन भाडामा लगाउन प्रति स्क्वायर मिटर ३ सय रुपैयाँका दरले हिसाब गर्दा मासिक ३ लाख ९४ हजार ४ सय ७९ रुपैयाँ पर्न जान्थ्यो । तर, प्रदेश सरकारले २ लाख रुपैयाँ मासिक भाडा दरमा पाएको छ ।





