पोखरा, २५ असोज– चारभञ्ज्याङ तमु समाज पोखराको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि समाजसेवी राजकुमार तमुले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले राजनीतिक चेतना अनिवार्य रहेको भन्दै पार्टी राजनीति गर्नुस्, नगर्नुस तर तमुहरु सचेत हुनुपर्छ भने । राजनीतिमा शक्ति, स्रोत र पहँचु हुने भएकाले राजनीतिमा अग्रसर हुन उनले आग्रह पनि गरे । उनले चारभञ्ज्याङ तमु समाजलाई आधा महिनाको पेन्सन १७ हजार ६ सय रुपैया सहयोग पनि गरे ।
साधारणसभामा सचिव माओत्सेतुङ तमुबाट प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष क्या.ठाकुरप्रसाद तमुद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन र आमा समितिकी कोषाध्यक्ष बेलकुमारी तमुबाट प्रस्तुत आमा समितिको प्रतिवेदन पारित गरिएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार पुरनध्वज तमुले समाज स्थापनाको १७ वर्षे विकासक्रम हेर्दा आफू अत्यन्तै हर्षित भएको भएको बताए । उनले समाजका संस्थापक मध्येका हुमबहादुर तमु तमु धिं नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भएकोमा बधाई ज्ञापन गरे ।
समाजका अध्यक्ष प्रदिपकुमार तमुको अध्यक्षतामा भएको चारभञ्ज्याङ तमु समाज आइसिसि अध्यक्ष एवम बौद्ध अर्घौ सदन उपाध्यक्ष क्या.चन्द्रप्रसाद तमु, तमु धिं नेपालका भरखरै निर्वाचित अध्यक्ष हुमबहादुर तमुले शुभकामना व्यक्त गरेका थिए भने प्रथम उपाध्यक्ष क्या.टेकबहादुर तमुले स्वागत र सचिव माओत्सेतुङ तमुले कार्यक्रम संचालन गरेका थिए ।





