बागलुङ, २६ असोज– कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला सुरक्षा समितिले बजारमा सचेतना अभियान संचालन गरेको छ । समितिले बागलुङ उद्योग बाणिज्य संघको सहकार्यमा व्यवसायीलाई पसलमा बस्दा पनि अनिवार्य मास्क लगाउन आग्रह गरेको हो ।
‘आज मेरो लागि मास्क लगाइदिनुहोस् भनेर आग्रह गरेका थियौं’ प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले भने, ‘नियमित मास्क नलगाएमा तपाइको व्यवासय बन्द गराउन पनि सकिन्छ भनेर सम्झाएका छौं ।’ अभियानमा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीसमेत सहभागि थिए ।
दशै सुरु भएकोले किनमेलका लागि बजारमा आउनेहरु बढेको र त्यसले भीड बढाएपछि संक्रमणको जोखिम भएको उनले बताए । कोरोना भाइरसबाट बच्नका लागि अनिवार्य मास्क लगाउनुपर्ने सुझाव दिइएको हो । अधिकांस पसलमा बस्नेले मास्क नलगाएको भेटेपछि अनुगमन गरिएको थियो ।
समितिका पदाधिकारीहरु पैदलै बजारमा डुलेका थिए । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले पनि मास्क लगाएमात्रै कोरोनाबाट सुरक्षित बन्न सकिने भएपनि नलगाएर लापरबाही गर्दा जोखिम बढ्ने बताए । समितिले एकदुइपटक सम्झाएपछि पनि अटेर भएमा कारवाही गर्ने चेतावनी दिएको छ । अनुगमनको क्रममा मोटरसाइकलमा हिंड्ने अधिकांसले मास्क नलगाएको भेटिएको थियो । उनीहरलाई पनि मास्क वितरण गरेर समितिका पदाधिकारीले आगामी दिनमा मास्क नलगाएको भेटिए कारवाही गर्ने चेतावनी दिएको थियो ।








