पोखरा, २७ असोज– लोन्ली प्लानेटले अन्नपूर्ण क्षेत्रलाई घुम्नैपर्ने विश्वका १० गन्तव्यमा सूचिकृत गरेको छ । लोन्ली प्लानेटले घुम्नैपर्ने सूचिमा राखेको अन्नूर्ण क्षेत्र भने मुख्य सिजनमा सुनसान छ । कोरोना कहरका कारण अन्नपूर्ण पदमार्गअन्तर्गतका होटलहरु तत्काल खुल्ने छाँटकाँट पनि छैन । यसअघि व्यवसायीहरुले कात्तिक पहिलोसातादेखि नै होटल सञ्चालन गर्ने बताए पनि संक्रमणको दर उच्च रहेकाले तत्काल नखुल्ने निर्णय लिएका हुन् ।
छोम्रोङ पर्यटन व्यवसायी समितिले संक्रमणको दर बढ्दै गएको हुनाले तत्काल व्यवसाय सञ्चालनमा नल्याउने निर्णय गरेको समितिका सचिव दिलिप गुरुङले जानकारी दिए । ‘संक्रमणको दर दिनहूँ बढ्दो छ । काठमाडौंमा हेर्नुस्, त्यसैले हामीले तत्काल नखोल्ने भयौं’,उनले भने ।
संक्रमणको दर बढ्दै जान थालेपछि व्यवसायीहरु त्रसित बनेको उनले सुनाए । अहिलेसम्म सुरक्षित पदमार्ग सञ्चालनमा आएसँगै संक्रमण पनि भित्रिने भयले व्यवसायीहरु त्रसित बनेको उनले बताए । ‘यसअघि कात्तिकदेखि व्यवसाय खोल्ने भने पनि हाललाई संक्रमणको दर उच्च रहेकाले कमिटीले अहिलेको लागि स्थगित गरेको छ’, उनले भने ।
समितिले अर्को सूचना नआउञ्जेलसम्मको लागि होटलहरु बन्द रहेने उनले सुनाए । पदमार्गअन्तर्गतका झिनु, किम्रोङ खोला, घुर्जुङ, छोम्रोङदेखि अन्नपूर्ण बेसक्याम्पसम्मका सम्पूर्ण होटेल दोस्रो सूचना नआउञ्जेलसम्मको लागि नखुलाउने उनले जानकारी दिए ।

पदमार्गमा पर्ने ६२ होटलहरुमध्ये कुनै पनि होटल सञ्चालनमा नआउने सचिव गुरुङले बताए । यसअघि कात्तिक पहिलो सातादेखि आन्तरिक पर्यटकहरु घुमफिरका लागि निस्किने समय भएकाले समितिले होटल सञ्चालनमा ल्याउने बताएको थियो । एबिसी पदयात्रामा निस्किने पदयात्रीको लागि समितिले २४ घण्टामा होटल फेर्नुपर्ने गरि पदयात्राको व्यवस्था मिलाएको थियो । तर, बढ्दो संक्रमणको दरले समितिले तत्काल होटल सञ्चालनमा नल्याउने भएको हो ।
समितिले होटल सञ्चालको लागि पूर्वतयारी स्वरुप प्रत्येक होटलमा एउटा थर्मल गन, रेकर्डर, ४२० वटा मास्क, प्रत्येक होटलका लागि २ लिटरका दरले सेनिटाइजर, डिइन्सफेक्सन, स्प्रेलगायतका सुरक्षा सामग्री पनि वितरण गरेको थियो । होटल सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरे पनि संक्रमणको दर थप बढ्न नदिन तत्कालको लागि होटल सञ्चालन गर्ने छैन । समितिले आफ्ना व्यवसायीलाई ५ लाख ५० हजार बराबरको सुरक्षा सामग्री वितरण गरेको छ ।





