आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

गुरुकुल जातीय विभेद जन्माउने कारखाना नबनोस्

गुरुकुल जातीय विभेद जन्माउने कारखाना नबनोस्


  • सज्जन कुमार सिँह
  • असोज २८ २०७७, बुधबार

धर्म सधैं नेपाली समाजको केन्द्रिय चरित्रमा रहिआएको छ । नेपालीले रंगीविरङ्गी धार्मिक पद्धति र संकारलाई औधी माया गर्छन् । उनीहरुले बहुआयामिक धार्मिक परम्परालाई अँगालेका छन् । मुख्यतयाः नेपालीले झाँक्री, शैव, बौद्ध, तान्त्रिक र वैष्णव धर्मलाई अँगालेका छन् । वर्ण व्यवस्थाबाट लाहछाप लाएको वर्ग व्यवस्था र त्यसका कारण सिर्जना भएका नकारात्मक साँस्कृतिक तत्वहरुले नेपाली समाजलाई प्रदुषित पारेको छ । यसभित्रा कैयौ वैज्ञानिक र व्यवहारिक मान्यता, ज्ञानहरु पनि यसका नकारात्मक धार्मिक मान्यता कारण विलिन भए । सधैं धर्म, सँस्कार र संस्कृतिको नाममा फाइदाकोे स्वादपान गरिरहेको विशेष जात र समुह सधै भ्रमको खेती गरेर आफ्नो फाइदाको धरहरा टिकाइरहन उद्धत भयो । उनीहरुको मान्यताले अझै पनि आफूलाई पवित्र, स्वच्छचारी ठान्छ, अरुलाई बिटलो र अशुद्ध ठान्छ । अरुभन्दा आफू पवित्र र उच्च कोटीको ठान्ने मान्यताको भुत सवार दिमागले ढुंगे युगिन समाजमै नेपालीलाई अल्झाइरहेको छ । त्यो समूहको दिमागमा गहिरो गरि गडेको जात व्यवस्था र मान्यताको जरो उखाल्न यो वैज्ञानिक युगले समेत नसक्नु जत्तिको विडम्बना के हुन सक्ला ? उनीहरु आफू परिवर्तन हुनै चाहँदैनन् र समयलाई दोष थोपरेर विस्तारै बिस्तारै परिवर्तन हुन्छ भनेर बैंकको किस्ताजस्तै परिवर्तनको मागलाई अल्झाइरहन चाहेका छन् ।
हिन्दु धर्म भन्ने बित्तिकै बाहुन, ब्राम्हणवाद भन्ने शब्द पनि सँगै आउँछ । वर्ण व्यवस्था र त्यही व्यवस्थासँगै जोडिएको जात व्यवस्थामा ब्राम्हणलाई ज्ञान बाँड्ने, पूजापाठ गर्ने, कर्मकाण्डिय काम गर्ने भनेर काम छुट्याइयो । मान्छेको भाग्य कुण्डली लेख्नेदेखि मरेकोलाई स्वर्ग तार्ने काम पनि यही जातलाई जिम्मा लगाइयो । हिन्दु धर्मसँग भाग्यवाद र चाकडीवाद पनि सँगै आउने कुरा समाजशास्त्री, मानवशास्त्री डोरबहादुर विष्टले यसअघि नै लेखेका थिए । बाहुनवाद भन्ने शव्द काठमाण्डौ उपत्यका र कर्णाली बेंसीका मध्ययुगमा आएका ब्राम्ह्णहरुले सुरु गरेको वर्ण व्यवस्थाको सिद्धान्त र सांस्कृतिक ढाँचाका लक्षणहरुको मलजल र निरन्तरताका लागि प्रयोग गरियो ।
नेपाली समाजको खराब व्यवस्थालाई नेपालमा थोपर्ने बाहुन थिएनन् । तत्कालीन समयमा कमजोर र आप्रवासी थिए, बाहुनहरु । त्यसैले यस्तो काम गर्ने क्षमता उनीहरुसँग थिएन । यो बाहनुवादी सिद्धान्तलाई लागु गर्ने तत्कालिन ठालु वर्ग थियो जो बाहुनवादी सिद्धान्तलाई लागू गरेर आफ्नो वर्गिय हैसियत अझै बलियो बनाउन चाहन्थे (भाग्यवाद र विकास ४ डोबहादुर विष्ट ।)
लेनिनले भनेजस्तै सुँगुरलाई सफा गर्न सुँगुरको खोरमा पस्नुपर्छ । फोहोरलाई सफा गर्न फोहोरमा हात हाल्नै पर्छ । किनकी सिनोलाई सुनको फ्रेमले छोपेपनि विभिन्न वास्नादार अत्तर छर्केपनि त्यो एक दिन त गन्हाउँछ नै, बेस्सरी । हाम्रो नेपाली समाजमा गन्हाएका धेरै मान्यता, धर्म संस्कृतिका नाममा संरक्षित गन्धहरु सफा गर्नुको साटो हातमा बेल्चा भएकाहरु बेवास्ता र आनाकानीको मलमले कभर सिलाएर त्यसलाई अझै सुन्दर भएको दाबी गर्दैछन् । नेपाली समाजमा धर्म, संस्कार, संस्कृतिका नाममा जति ठूला झुटहरुलाई अघि सारेर राम्रो सावित गर्न खोजे पनि त्यसको वास्तविक अवस्था सबैलाई थाहा छ । कम सत्य र बढ्दा झुटहरुका बीच हाम्रो समाज यहाँसम्म लतारिएको छ । भुराजनीतीले जर्बजस्त हामीलाई विश्वव्यापीकरण गर्न बाध्य पारेको छ भने हाम्रो मान्यता र सँस्कार, सोचले हामीलाई ढुंगेयुगतिरै धकेलेको छ । एउटा वर्ग र समुह धर्म, सँस्कृति, सँस्कार, राजनीति, प्रशासन सबैतिर लामो समयदेखि दाँइ खेल्दै आएको छ । समाजको शासन व्यवस्था पनि जातमा आधारित भयो । जात व्यवस्था धर्मको आडमा बनाइयो । हिन्दु धर्मको शासकीय र अर्थराजनीति यतिसम्म विभेदकारी बनाइयो कि एउटा बसेको कुर्चीमा अर्को जात, समुह, वर्ग बस्नै नपाउने, एउटा जात बराबर अर्को जात हुनै नसक्ने ।
श्रममा आधारित जात व्यवस्था र जात अनुसारको संस्कार, कर्म र दण्ड जरिवाना अधिकार सबैलाई रामवाण बनाएर जुन भ्रमको खेती गरियो त्यो खेती आज पनि मस्तले मौलाएको छ । कतै यो खेती नासिन्छ कि भनेर आज पनि त्यसको संरक्षणमा निश्चित समूह, जात लागेको छ । ज्यान र घाँटी सेरिन तयार छन् तर मनुकालीन मान्यताको त्यो झुटलाई छाड्न तयार छैनन् । त्यतिबेला बनाएको जातको छडी खेलाएर केही मनुवाहरु आज पनि आफु पवित्र, ब्राम्णतत्व र चोखनिस्ट भएको, छुट्टै र अन्यभन्दा अझै ठूलो भएको ढोंगी नौटंकी खुलेयाम गर्दैछन् । गु टेकिसक्दा पनि दैलो नदेख्नेहरु गु’लाई पन्चामृत सम्झेर पान गरिहेका छन् ।
समाजमा धर्म संस्कृतिलाई कानुन ठानेर, सिमा र परिधी मानेर सदियौदेखि खराब, सोच, चिन्तन र संस्काररुपी अभ्यास गरिदै आइयो । स्वार्थका लागि, फाइदाका लागि, शासन गर्नका लागि होस् या सिँगो समाजलाई कब्जा गर्नका लागि किन नहोस् यस्तो खालको चातुर्यतासहित भ्रमको खेती गरियो । धर्म जोगाउने नाउँमा, संस्कृति जोगाउने नाममा एकात्मक अर्थराजनीती हिन्दु धर्ममा सुरुदेखि चलेको छर्लङ्ग देखिदै आयो । झुटको खेतीमा फाइदाका बालाहरु झुल्ने भएपछि झुटकै पछि लाग्ने लर्को बरु ज्यान दिन तयार भए, त्यो झुटलाई छाड्न तयार छैनन् ।
केही दिनअघि बागलुङको कुँडुलेमा एकजना पौडेल समाजकै प्रखर पण्डित, वेद पुराण पढेरै आचार्य गरेका चन्द्रकान्त पौडेलले गुरुकुलमा दलित जनजाती सबैले पढ्न पाउनुपर्छ भनेर आवाज उठाए । यो अवाज सुन्दा धेरैलाई अचम्म पनि लाग्यो, विद्यालयमा वेद पुराण पढ्न पनि पाइँदैन र ? हो पाइँदो रहेनछ । उपाध्याय ब्राम्हणबाहेक अरु कुनै पनि जातजातिलाई आजसम्म त्यो ठाउँमा पढ्न दिइएको छैन त्यो प्रस्ट हो । उनको आवाज त्यहाँका केही व्यक्तिसँग ईख साँध्नका लागि थियो वा आत्मैदेखि थियो त्यो एकपक्ष होला तर उनले उठाएको मुद्दाविरुद्ध त्यहाँको सिँगो समाज लाग्यो । सार्वजनिक रुपमा भनियो कि बरु घाँटी सेरिन तयार छौं, दलितलाई यो विद्यालयमा पढाउन इच्छा जाग्दैन । यसबारेको भिडियो देशविदेशमा जताततै पुगेपछि धेरै आक्रोसहरु सामाजिक सञ्जालमा पोखियो । स्थानीय ब्राम्हण समुदायले निकालेको स्वर वास्तविक स्वर थियो र यथार्थ पनि त्यहिं थियो कि त्यो समाज मनुवादी चिन्तनले ग्रस्त र रोगी छ । ती स्वरहरुले हामीलाई लज्जाबोध हुनुपथ्र्र्यो । हाम्रौ शीर निहुरिनु पथ्र्याे । यस्ता गलत मान्यता र सँस्कारविरुद्ध पण्डितहरु जाग्नुपथ्र्यो । त्यहाँ उपस्थित शिक्षित भिडहरु लाग्नुपथ्र्यो । तर दलित जनजातिले गुरुकुलमा पढ्न पाउनुपर्छ भन्दा उनीहरुलाई सबैभन्दा बढी दुख्यो । आफूमाथि अपमान भएको महसुस ग¥यो । मलाइ लाग्छ, यस्तो लज्जाको कुरा गर्नेको नाक छोप्ने रुमाल यो दुनियाँमा कतै बनेको छैन होला ।
नेपाली समाजको धरातलीय अवस्था कस्तो छ भनेर बुझ्न यही एक मिनेटको भिडियो काफी छ । शब्दमा जति धैरै समानता देखाउन खोजे पनि, विद्यालयले निकालको विज्ञप्तीमा समानताको जति हौवा पिटे पनि गुरुकुलहरु निश्चित जातिको व्यवसाय हो, यो व्यवसायमा एकलौटी दबदबा कायम गर्न चाहन्छन् । यो लुटको धन्दामा अरुलाई सजिल्यै प्रवेश गर्न यसका सञ्चालक तयार छैनन् । किनकि सरकारले पैसा खनाउँछ, धर्मका नाममा पैसा संकलन हुन्छ, मासिक पैसा दिइ–दिई पढाइने गुरुकुलमा दलित जनजातिलाई प्रवेश निषेध गरिन्छ । गुरुकुलहरु यथार्थमा विभेद जन्माउने कारखानाजस्ता बनाइएको छ ।
मार्छु काट्छु भनेर भन्ने जमातको अघि प्रमाणका रुपमा त्यहाँ प्रहरी पनि उपस्थित थियो । त्यहाँ केहि पत्रकार पनि उपस्थित थिए । शैली र प्रस्तुतीकरणमा चन्द्रकान्तले केही कमजोरी गरे होलान् तर सार्वजनिक ठाउँमा यसरी सँविधान, कानुन र सिँगो व्यवस्थालाई नै च्यालेन्ज गर्ने पाखण्डी मान्छेहरुलाई कारबाहीको दायरामा ल्याउन किन सकिएन् त ?
बरु, चन्द्रकान्तले फेसबुकमा लेखेका कुराहरुमा सिंगो समाज प्रशासन, प्रहरीको अनुसन्धानको सुई घुमाइयो । अन्ततः सार्वजनिक ठाउँमा सुन्नै नसकिने भाषा बोल्नेहरुले प्रजिअसँगको छलफलमा माफी मागेर छाडिए तर चन्द्रकान्त पटकपटक प्रहरीमा जाकिए । चन्द्रकान्त पौडेलका व्यक्तिगत समस्या र प्रवृत्ति स्वार्थ कमजोरी थिए र छन् तर मुद्दालाई यसरी घुम्तीमा गाडी मोडेझै घुमाइयो मानौँ समाज पूरै समानतावादी, विशिष्ट चन्द्रकान्त कुलंघार र नालायक । यो मुद्दामा दलित नेताहरु पनि चुप लागे । एउटा बाहुन समुदायको आचार्य पढेको पण्डितले विभेदविरुद्ध आवाज उठाउनु ठुलो उपलब्धि थियो, भलै वेद पुराण पढेर मुक्ति हुन्छ भन्ने कुरा आफ्नो ठाउँमा सही गलत हुनसक्थ्यो । तर यो समानता र सामाजिक न्यायको लडाईँ थियो ।
यो मुद्दाका बारेमा समाज परिवर्तनका लागि लडेका भनेकाहरु, आफूलाई समानताका पक्षपाती भन्ने कम्युनिष्ट, काँग्रेसका नेता, स्थानीय जनप्रतिनिधी कोही चुइक्क बोल्न चाहेनन् किनकी उनीहरु पनि कुनै न कुनै रुपमा यस्तो व्यवस्थालाई जोगाइराख्न चाहन्छन् । उनीहरु बरु कुनै व्यक्तिलाई गलत बनाएर मुद्दालाई छायामा पार्न उद्धत देखिए । केहि दिन यता स्वयम् लेखक पनि गुरुकुलमा रहेको जातिय विभेदविरुद्धमा सहभागी भयो । विद्यालयकी प्रधानाध्यापकले समेत प्रस्ट भनिन् कि ब्राम्हणतत्व भएको विद्यार्थीले विद्यालयमा पढ्न पाउँछ । त्यो कुरा आफैमा भ्रमित र आलोचना गर्न लायक शब्द थियो । ब्राम्हण तत्व भनेको के ? कस्तो हो ब्राम्हण तत्व भनेको ? अन्ततः विभिन्न सर्त र बहानाहरु तेर्साएर त्यो ठाउँमा निश्चित जातबाहेक अरुलाई प्रवेश गराउन उनीहरु चाहदैनन् ।
हिन्दू धर्म मान्ने अधिकांस दलित समुदाय जसरी पनि यही धर्म सँस्कारका क्रियाकलाप गर्छन् । मर्दापर्दा, विवाह–व्रतबन्ध गर्दा पनि हिन्दु संस्कार विधि अनुसारनै गर्छन् । तर उनीहरुको समुदायमा त्यो सँस्कार गर्ने मान्छेहरु छैनन् । हिन्दु धर्म मासियो भन्ने चिन्ता लिने धर्मविरुहरु समानताका लागि आफ्नो मुख उक्काउन चाहन्न् । धर्म नासियो भन्ने चिन्ताले उनीहरु पानीबिनाको माछा छट्पटिएझै हुन्छन् तर समानताको पक्षमा बहस छेड्ने राजेश हमालहरुलाई क्रिश्चियनको एजेण्ट भनेर आरोप लगाउन पछि पर्दैनन् ।
समानताको अभियान थाल्न, गलत प्रवृत्तिको विरुद्धमा बोल्न उनीहरुलाई कुन दैविक शक्तिले रोक्यो त नि ? यस्ता गम्भिर विषयहरु छताछुल्ला हुँदा प्रशासन र जनप्रतिनिधीहरुले एउटा सचेतनामुलक कार्यक्रमसमेत गर्ने ल्याकत राख्दैनन् । पण्डितहरु ठेकेदार र निर्माण व्यवसायी बनेका छन् मानौ विकासको सबै ठेक्का उनीहरुको हो । यहाँ नेता, बौद्धिक दासहरु सबै उनीहरुको पाहुमा निधार टाँसेर भाग्योदयको अपेक्षा राख्छन् । हिजो नेपाली समाजको यथार्थ लेख्दा जसरी डोरबहादुर विष्टहरु सदाका लागि गायब भए त्यहिं समाजमा चन्द्रकान्तहरु बौलाउनु ठुलो कुरा होइन् ।
१९५० मा बागलुङमा जन्मिएका भगतसर्वजितले धार्मिक समानताको उठाएको कुरा उठाएका थिए । तत्कालिन अवस्थामा जुन व्यवहार भयो अहिले आएर चन्द्रकान्तले त्यही कुरा उठाउँदा पनि उस्तै खालको व्यवहार देखियो । हामीले गरेको राजनैतिक परिवर्तन, आजसम्म भएका त्यागहरुको औचित्य के ? सोचौं हामी कुन युगमा छौँ ? यस्ता गलत संस्कारको विरुद्ध, यस्ता पाखण्डी सोचको विरुद्धमा बोल्ने नसक्ने हाम्रो बौद्धिकता, आफ्नो ज्ञानले हामीलाई धिक्कारेको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->