पोखरा, ३० असोज -चोकहरु व्यस्तै हुन्छन् । महेन्द्रपुल, पृथ्वीचोक,सभागृह,चिप्लेढुंगा, सृजनालगायतका चोकहरु व्यस्त चोकमा गनिन्छन् । तुलनात्मक रुपले सृजनाचोक कम व्यस्तमध्येकै हो । तर, पोखराको पहिलो आकासेपुल त्यहीँ बनाउने निर्णय भयो । तत्कालीन कास्की २ का सांसद तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पुलको लागि पूर्वाधार विकास कार्यक्रमअन्र्तगत ५० लाख रुपैयाँ विनियोजन गरेका थिए । गतवर्ष २७ मंसिरमा महानगर प्रमुख मानबहादुर जीसीले सो परियोजनाको शिलन्यास गरे ।
आकासेपुल गएको साउनभित्रै तयार भइसक्नुपर्ने हो । यद्यपि, आकासेपुलका पिल्लर भर्खरै मात्रै ठडिएका छन् । गत साल जेठमा महानगरले २ करोड ३० लाख रुपैयाँमा निर्माण सक्ने गरि निर्माण कम्पनी केएमजेबी एनएससँग सम्झौता गरेको थियो । गएको साउनमा निर्माण सक्ने गरि महानगरले निर्माण कम्पनीसँग निर्माण सम्झौता गरे पनि कोरोना महामारीका कारण अहिलेसम्म धकेलिएको पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले बताए । ‘तपाईंलाई थाहै छ । कोरोनाले हामीलाई कति असर पु¥याएको छ भन्ने’, उनले भने, ‘अर्को कुरा त्यहाँ भएका बिजुलीका पोल, रुखका हाँगाहरु पनि व्यवस्थापन गर्नुपर्ने भएकाले अलि समय लागेको हो ।’ अहिले आकासेपुलको जग हाल्ने र पिल्लर ठड्याउनेलगायतका काम सकिएको छ ४ ठाउँबाट पुलमा चढ्ने र झर्ने गरि ठड्याइएको पिल्लरमा जडानको काम बाँकी छ ।
बिजुलीको पोल र रुखको हाँगाको व्यवस्थापन भएको १५, २० दिन भित्रै पुल जडानको काम सकिने उनले जानकारी दिए । पोल व्यवस्थापनको लागि विद्युत प्राधिकरणसँग समन्वय भइरहेको उनले बताए । तत्काल पोल सार्दा पोखरा क्षेत्रका विभिन्न स्थानमा विद्युत आपुर्ति बन्द हुने भएकाले पनि पोल सार्न ढिलाई भएको उनले सुनाए । रुखको हाँगा पन्छ्याउने काम भने दुई, चार दिन लगत्तै सकिने उनले बताए । महानगरका इन्जिनियर राजु रेग्मीले पुलमुनि कंक्रिट र माथि फलाम हुने जानकारी दिए । पुल निर्माणका सबै जसो काम सकिए पनि पोल र रुखका हाँगा व्यवस्थापनमा अल्झिरहेको उनको जिकिर छ ।
महानगर प्रमुख जीसीले अन्य चोकमा पनि आकासेपुल खडा गर्नेबारे सम्भाव्यता अध्ययन भइरहेको बताए । सिर्जना चोकको आकासेपुलको निर्माण कार्य सकिएलगत्तै अर्को व्यस्त चोक महेन्द्रपुलमा पनि आकासेपुल निर्माणको काम थाल्ने उनले जानकारी दिए । ‘पहिला त आकासेपुल बनाउन ठाउँ पनि चाहियो’, उनले भने, ‘हाम्रोमा ठाउँको पनि कमी छ । सिर्जना चोकको काम सकिएलगत्तै महेन्द्रपुलमा निर्माणको काम अघि बढाउँछौं ।’ सिर्जनाचोकमा आकासेपुलको निर्माण सकिएलगत्तै पोखराको ट्राफिक व्यवस्थापनमा राहत मिल्ने उनले विश्वास लिए । पोखरामा निर्माण हुन लागेको यो पहिलो आकासेपुल हो । यसअघि देशका अन्य प्रमुख सहरहरु काठमाडौं, बुटवललगायतका ठाउँमा आकासेपुल बनिसके पनि पोखरामा आकासेपुल बन्न सकेको थिएन ।





