आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरोना संक्रमणबाट मृत्यु: गलत को ! सरकार कि सेना ?

कोरोना संक्रमणबाट मृत्यु: गलत को ! सरकार कि सेना ?

तथ्यांक लुकाउने वा बंगाउनेलाई के होला कारवाही ? मृत्यु ७१५ कि ८८९ ?


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०७७, शुक्रबार

काठमाडौं, ३० असोज – विश्वभरी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा मृत्यु भएकाहरुको तथ्यांक फरक फरक पाइएको छ । यसले तथ्यांक लुकाउने सरकार कि बंगाउने नेपाली ेसेना को दोषी भन्ने गम्भीर प्रश्न उठेको छ । सरकार र नेपाली सेनाले शुक्रवार सार्वजनिक गरेको तथ्यांकमा करिव सयको संख्या फरक परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ७१५ जनाको मृत्यु भएको जनाएको छ ।नेपालमा पहिलो पटक जेठ ३ मा सिन्धुपाल्चोक, बाह्रबिसेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो ।
तर नेपाली सेनाले शुक्रवारै हालसम्म ८८९ जनाको शव व्यवस्थापन गरिसकेको तथ्यांक उपलब्ध गराएको छ । कोभिड–१९ संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले मात्र गर्दै आएको छ । र, हरेक शव व्यवस्थापनबारे सेनाको पृतनाहरुलले विस्तृत विवरण केन्द्रमा पठाउने गरेका छन् । त्यसअनुसार सबैभन्दा धेरै उपत्यका पृतनाले हालसम्म ४४४ वटा शव व्यवस्थापन गरेको छ । मध्य पृतनाले १३९, पूर्वी पृतनाले ९८, मध्यपश्चिम पृतनाले ८५, मध्य पूर्वी पृतनाले ५४, उत्तर पश्चिम पृतनाले ४१, पश्चिम पृतनाले १७ र सुदूरपश्चिम पृतनाले ११ शव व्यवस्थापन गरेको पाइएको छ ।
सैनिक उच्च स्रोतका अनुसार सेनाले व्यवस्थापन गरेका ८८९ शवमध्ये केही क्वारेन्टिनमा आत्महत्या गरेर कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या पनि छ, जसलाई स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको तथ्यांकमा समावेश गर्ने गरेको छैन । यस्तो संख्या निकै सानो छ ।
उपचारका क्रममा मृत्यु भएर आफन्तले शव व्यवस्थापन गरेका केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकाले नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको संख्या सेनाले उपलब्ध गराएको अंक आसपासमै भएको स्रोतको दाबी छ ।
त्यसो भए स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको संख्या किन यति कम भयो त ? मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम भन्छन्, ‘यसबारे मलाई थाहा छैन ।’ हरेक दिन मन्त्रालयको च्यानलबाट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा तथ्यांक आउने र त्यसलाई आफूहरुले सार्वजनिक गर्ने गरेको उनले बताए ।
सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले भने सेनाले आफ्नो संयन्त्रबाट संकलन गरेको तथ्यांक सार्वजनिक गरेको र थप विषयबारे स्वास्थ्य मन्त्रालयसँगै बुझ्न आग्रह गरे । नेपाली सेना र सरकारले उपलब्ध गराएको संख्या फरक परेपछि गलत तथ्यांक उपलब्ध गराउनेलाई कसले कारवाही गर्ने भन्ने प्रश्न पनि गम्भीर रुपमा उठेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->