बागलुङ, ३० असोज– दुइ सातादेखि बागलुङका व्यारेकमा कोरोना संक्रमण तीव्र भएपछि त्यसको रोकथाम र सर्तकताबारे चासो र चिन्ता बढेको छ । उपल्लाचौरस्थित नेपाली सेनाको २३ नम्बर बाहिनीमा बढी संक्रमित देखिएका छन् भने प्रहरीमा पनि धमाधम संक्रमण पुष्टी भएपछि जिल्ला कमाण्ड पोष्टले पनि संक्रमणको व्यवस्थापनका लागि तयारी गरेको छ ।
शुक्रबार बसेको कमाण्ड पोष्टको बैठकले व्यारेकमा सर्तकता अपनाउने र वडा स्तरमा अनुगमन समिति गठन गर्ने निर्णय गरेको हो । उक्त समितिले हरेक वडामा को–कति मानिस भित्रिएका छन् उनीहरुको खोजी गर्ने र क्वारेन्टाइनको व्यवस्थापन गर्ने निर्णय गरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । बागलुङस्थित सैनिक व्यारेकमा मात्रै १ सय बढीमा संक्रमण भैसकेको छ ।
बैठकमा बागलुङ उद्योग वाणिज्य संघको सहकार्यमा पसल खोल्ने तथा बन्द गर्ने समय व्यवस्थापन गर्ने छलफल पनि चलेको थियो । उक्त बैठकले निर्णय नगरेपनि संघलाई व्यवस्थापनको जिम्मा दिइएको छ । कन्ट्याक्ट ट्रेसिङलाई बढी व्यवस्थित बनाउन सहभागिले सुझाव पनि दिएका थिए ।
तीन साताअघि बागलुङको काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरामा गएको पहिरोमा एक बेपत्ताको खोजीमा निस्केको सेना र प्रहरीको टोलीमा कोरोना संक्रमण देखिएपछि व्यारेकमा भित्रिएको प्रारम्भिक अनुमान गरिएको छ । काठेखोलामा समुदाय वा कुनै होटलमा संक्रमण भएको अनुमान गुरौले गरे । त्यहींबाट प्रवेश गरेको संक्रमणले बागलुङ बजारको तथ्यांक अत्याधिक बनाइदिएको छ ।
बागलुङका कुन पालिका कति संक्रमित
अहिलेसम्म बागलुङ नगरभित्र मात्रै १ सय ७८ जना संक्रमण भएको देखिएको हो । तीमध्ये १ सय जना आइसोलेसनमा छन् । ७८ जना निको भएका छन् । आइसोलेसनमा भएका अधिकांस सेना र प्रहरीका हुन् । बागलुङ नगरपालिका पछि गलकोट नगरपालिकामा संक्रमित बढी देखिएका छन् । शुक्रबारसम्म गलकोटमा ८५ जना संक्रमित पुगेका छन् । अहिलेसम्म ५८ जना निको भएर फर्केका छन् भने २७ जना सक्रिय संक्रमित छन् । काठेखोलामा ६३ जना संक्रमित छन् । तीमध्ये ५८ जना निको भएका छन्भने ५ जना अझै सक्रिय संक्रमित छन् । बडिगाडमा ४४ जना संक्रमित छन् । उनीहरुमध्ये २ जना अझै आइसोलेसनमा बसेका छन् ।
ढोरपाटन नगरपालिकामा ३९ जना संक्रमित भएकोमा १ जना मात्रै निको हुन बाँकी छन् । बरेङमा ३७ जनामध्ये ३६ निको भैसकेका छन् । जैमिनीमा २३ संक्रमितमध्ये १३ निको भएका छन् १० जना अझै सक्रिय छन् । तमानखोलामा २१ संक्रमितमा १८ जना निको भएका छन् । ताराखोला र निसीखोलामा १७ जनाको दरले संक्रमित भएकोमा १५÷१५ जना निको भएका छन् । जिल्लाको संक्रमणमा ९ प्रतिशत महिला र ९१ प्रतिशत पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।





