पोखरा, १ कार्तिक– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रविधिमैत्री प्रहरी गण्डकी प्रदेशको चाहना भएको बताएका छन् । नेपाल प्रहरीको ६५ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार गण्डकी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेश प्रहरीको समुन्नत विकासका लागि गण्डकी प्रदेश सरकार तत्पर रहेको पनि बताए ।
आफ्नै प्रहरी ऐन पारित गरेको गण्डकी प्रदेश निकट भविष्यमै आफ्नै प्रहरी संगठन बनाउने तयारीमा छ । गण्डकी प्रदेशको हालै सकिएको बर्खे अधिवेशनले पारित गरेको गण्डकी प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो । गण्डकी प्रहरी ऐनमा अपराधको अनुसन्धान निष्पक्ष तथा प्रभावकारी बनाउन वा थप अनुसन्धान गर्न आवश्यक देखिएमा मुख्य न्यायधिवक्ताको कार्यालयले सम्बन्धित अनुसन्धान अधिकारीलाई आवश्यक निर्देशन दिन सक्ने व्यवस्था गरेको छ । प्रहरीलाई जनमुखी बनाउने व्यवस्था पनि कानूनमा छ ।
मुख्यमन्त्री गुरुङले समय र प्रविधिको विकाससँगै अपराध र आपराधिक कार्यविधिमा परिवर्तन भरहेकाले अपराध रोकथाम गरि समाजमा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीलाई आधुनिक प्रविधिमैत्री बनाउनु पर्ने बताए । कानून विपरितका कार्यमा कुनै पनि अनुचित दवाब र प्रभावमा नपरि नागरिकलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नु नै अहिलेको आवश्यकता रहेको उनको भनाई थियो । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलेसजग, सचेत र कर्तव्यनिष्ठ भई राष्ट्रसेवा गर्नु प्रहरीको कर्तव्य भएको बताए । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले प्रहरी कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको प्रसंग निकाल्दै विशेष सतर्कताका साथ सुरक्षामा खट्न मातहतका प्रहरीलाई निर्देशन दिए । सो अवसरमा अमर प्रहरीका आश्रित परिवारलाई कदरपत्र तथा नगद रकम प्रदाअन गरिएको थियो भने प्रदेश प्रहरीको वार्षिक कार्ययोजना अनुसार त्रैमासिक कार्य सम्पादनको आधारमा उत्कृष्ट जिल्लाको रुपमो जिल्ला प्रहरी कार्यालय तनहुँ, उत्कृष्ट कार्यालय व्यवस्थापनतर्फ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक जीवकुमार श्रेष्ठ, उत्कृष्ट ट्राफिक व्यवस्थापनतर्फ गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्की, उत्कृष्ट प्रहरी कार्यतर्फ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, उत्कृष्ट कार्यालय व्यवस्थापनतर्फ प्रहरी नायव निरीक्षक टीकाराम पनेरु, उत्कृष्ट विपद उद्दार कार्यतर्फ प्रहरी हवल्दार श्यामकान्त श्रीवास्तव, उत्कृष्ट कार्यालय सहयोगीतर्फ प्रहरी कार्यालय सहयोगी बुधराम बिकलाई नगद पुरस्कार एवं सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
तस्वीर ः प्रहरी दिवसको अवसरमा पोखरामा आयोजित कार्यक्रममा सलामी ग्रहण गर्दै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ।





