पोखरा, ४ कार्तिक– कास्की प्रहरीले आफ्नै काकाको हत्या गरि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले कास्कीको पोखरा महानगरपालिका–२०, मजुवामा गएको वैशाख २१ गते आफ्नै काकाको हत्या गर्ने ४६ वर्षीय ईन्द्रबहादुर तामाङलाई पक्राउ गरेको हो । ओखलढुंगाको साविक मुलखर्क–२ घर भई मजुवा क्षेत्रमा ज्यालामजदुरी गर्दै आएका ५५ वर्षीय टंकबहादुर तामाङलाई ईन्द्रबहादुरले हत्या गरेका थिए । घटना विवरण अनुसार मृतक टंकबहादुर, उनका दाईका छोरा ईन्द्रबहादुर र सिन्धुली घर भएका २४ वर्षीय टंकबहादुर तामाङ मजुवाको जंगल छेउमा बनाएको टहरोमा बस्दै आएका थिए । गएको वैशाख २० गते साँझ उनीहरुले सँगै बसेर रक्सी र मासु खाए । रक्सी खाँदै गर्दा टंकबहादुर र ईन्द्रबहादुर झगडा गर्न थाले । झगडा हुँदै गर्दा पन्थ बहादुर त्यहाँबाट कति झगडा गर्छौ भन्दै हिँडे । बिहान उनी आउँदा टंकबहादुर मृत अवस्थामा थिए भने ईन्द्रबहादुर फरार । काकालाई भतिजले नै मारेको निष्कर्षमा पुगेको प्रहरीेले असोज २ गते लमजुङको सोति पसलबाट ईन्द्रबहादुरलाई पक्राउ गरेको हो ।





