पोखरा, ५ कार्तिक– पोखराका मेयर मानबहादुर जिसीको चुनावी नारा र थेगो हो, स्मार्ट सिटी । स्मार्ट सिटी सपना देख्नु मेयर जिसीको दोष हैन । दोष त कार्यान्वयन नहुनुमा पो छ त ! मुख्य कुरा के भने, मेयर जिसीलाई ‘स्मार्ट सिटी’मा के–के पूर्वाधार चाहिन्छ भन्ने सायद थाहै छैन !
ठूला घर, चिप्लो सडक मात्रै सहर हैन । सहर भनेको जनजीवन र संस्कृति पनि हो । सहर बन्न मान्छे चाहिन्छ, मान्छेले पढ्ने विश्वविद्यालय र विद्यालय चाहिन्छ अनि चाहिन्छ, पुस्तकालय पनि ! विकसित देशमा पुस्तकालय बिनाको सहर सायदै सोचिन्छ । तर, नेपालमा भने ठीक उल्टो छ । पुस्तकालय चाहिन्छ भन्ने कुरा जेल जीवनकालमा किताबको अभाव भोगेका नेताहरुले पनि बिर्सेका छन् । यही बिर्साईले नेपाल राष्ट्रिय पुस्तकालयलाई दिइएको जमलको जग्गामा बन्दैगरेको पुस्तकालयको काम रोकिएको छ । त्यो जग्गा मन्त्रिपरिषद्ले नै अमूक व्यापारिक कम्पनीको जिम्मा लगाउने प्रपञ्च रचिएको छ ।
सुन्दर सहर पोखरा पनि पठन संस्कृतिको मामिलामा खासै विकसित छैन । महानगरमा मुस्किलले औंलामा गन्न सकिने मात्रै पुस्तकालय छन् । त्यसमा पनि राज्यको खासै लगानी छैन । आफै संरक्षक रहेको पोखरा सार्वजनिक पुस्तकालयलाई पनि पोखरा महानगरपालिकाले ध्यान पनि छैन ।
‘सार्वजनिक पुस्तकालयलाई नगरपालिकाले सहयोग गथ्र्यो अहिले रोकियो । वार्षिक २–३ लाख आउँथ्यो, गएको वर्ष पाइएन’, पुस्तकालयका सहसचिव सूर्य क्षेत्रीले भने, हामीले सन् २००४ देखि अमेरिकन लाइब्रेरीसँग सहकार्य गरेका छौं, करिब ३० लाखको अक्षयकोष छ अनि सदस्यता शुल्क र दाताहरुको सहयोगले पुस्तकालय चलेको छ ।’उनका अनुसार पुस्तकालयमा अहिले २५० जनाजति सदस्य छन् । १ हजार रुपैयाँमा त्यहाँको वार्षिक सदस्य हुन पाइन्छ । सदस्यहरुले मन परेको पुस्तक पढ्ने र लैजाने सुविधा पाउँछन् ।
पोखराको गणेशटोलमा २००८ सालमा आदर्श पुस्तकालय खुलेसँगै पोखरामा पुस्तकालय खुल्ने क्रम सुरु भएको हो । प्रजातन्त्रसँगै खुलेकोसो पुस्तकालय कालान्तरमा बन्द भयो । २००९ पोखराको कुँडहरमा अरण्यज्योति पुस्तकालय खुल्यो । कुँडहरका चेतनशील व्यक्तिहरुको पहलमा खुलेको पुस्तकालय लामै समय चल्यो । अरण्यज्योति क्लब नै बन्यो ।
पोखरा सार्वजनिक पुस्तकालयका सहसचिव सूर्य क्षेत्रीका अनुसार त्यसपछि केही पुस्तकालय खुल्ने र बन्द हुने क्रम जारी रह्यो । केही पुस्तकालय गाभिए पनि । २०४६ सालपछि पोखरा सार्वजनिक पुस्तकालयको स्थापना भयो । तत्कालीन पोखरा महानगरपालिका र पोखरा उद्योग वाणिज्य संघको संरक्षकत्वमा स्थापित पुस्तकालय अहिले पनि संचालनमा छ ।अहिले पनि सबैले चिनेको र जानेको अनि पायक पर्ने ठाउँमा रहेको पोखराको एउटा मात्रै पुस्तकालय भनेको यही हो । त्यसो त, पोखरा–५, मालेपाटनमा शहीद स्मृति वाचनालय , रामबजारमा ज्ञानज्योति, लेखनाथको भण्डारढिकमा सिद्धार्थ पनि संचालमै छन् । यहाँका पृथ्वीनारायण, बन विज्ञान, इञ्जिनियरिङ र नर्सिङ क्याम्पसमा शैक्षिक पुस्तकालय रहेका छन् । सामुदायिक कलेजहरुमध्ये जनप्रिय बहुमुखी क्याम्पसमा सबैभन्दा ठूलो प्ुस्तकालय रहेको छ । यहाँ अस्तित्वमा रहेका नेपाल–भारत मैत्री पुस्तकालय, सिद्धार्थ पुस्तकालय भने अहिले बन्द छनु ।
स्मार्ट सिटीको नारा दिने मेयर जिसीले सोमबार भने अनौठो काम गरे । उनीबाट पोखराको कुँडहरमा रहेको अरण्यज्योति पुस्तकालय भवनको शिलान्यास भयो । २००७ सालको क्रान्तिमा होमिएका युवाहरुले जोसमा खोलेको पुस्तकालय भवनको त्यो बेला तत्कालीन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले शिलान्यास गरेका थिए । ६१ वर्षपछि त्यही ठाउँमा नयाँ भवनको जग राख्दै गर्दा मेयर जिसीले स्मार्टसिटीको एउटा आवश्यकता पूरा गर्ने दिशामा आफूलाई अगाडि पनि बढाए । ‘पुस्तकालय नेपाल सरकारले अति हेला गरेको क्षेत्र हो । शिक्षाको गुणस्तर अभिवृद्धि तथा सचेतताको लागि पनि पुस्तकालय चाहिन्छ’, पुस्तकालय अभियानमा सामेल सूर्य क्षेत्रीले थपे,‘ अहिले कुँडहरमा नयाँ भवनको शिलान्यासले महानगर पठन संस्कृतिको विकास गर्न चाहन्छ भन्ने सन्देश गएको छ ।’





