बागलुङ, १२ कात्तिक – धौलागिरी अस्पताल बागलुङलाई २०० शैयामा स्त्तोरन्नती गर्न प्रक्रिया सुरु भएको छ । धौलागिरी अस्पताल ब्यवस्थापन समितिले बुधवार सदुरमुकाम बागलुङ बजारमा आयोजना गरेको सर्वपक्षिय बैठक तथा छलफल कार्यक्रमले अस्पताललाई २ सय शैयामा स्त्तोरन्नती गर्ने कार्यलाई तत्कालै अगाडि बढाउने निर्णय गर्दै जग्गा ब्यवस्थापनका लागि समिति गठन गरेको छ । समितिलाई एक महिनाको कार्यदेश दिइएको छ ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष केबि राना मगरको संयोजकत्वमा पूर्व अध्यक्ष देव वहादुर श्रेष्ठ, बागलुङ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष जीवन आचार्य, नेपाली काँग्रेसका जगदीशचन्द्र उपाध्याय र जिल्ला प्रशासन कार्यालयका एक जना अधिकृत प्रतिनिधी रहेको जग्गा ब्यवस्थापन खोज तथा सिफारिश समिति गठन गरेको हो । समितिले अस्पतालको स्त्तोरन्नतीका लागि आवश्यक पर्ने जग्गाको खोजी गरी अस्पताल ब्यवस्थापन समितिलाई सिफारिश गर्ने सदस्य शालिकराम शर्माले वताए ।
छलफल कार्यक्रममा सहभागी संघिय तथा प्रदेशका सांसद, राजनैतिक दलका प्रतिनिधी, स्थानीय प्रशासनका प्रमुख, सामाजिक अगुवाहरुले धौलागिरी अस्पताललाई नमूना अस्पतालका रुपमा विकास गर्ने सवै किसिमका सहयोग गर्न आफुहरु तयार रहेको प्रतिवद्धता जाहेर गरेका थिए । उनीहरुले धौलागिरी अस्पताललाई साविक धौलागिरी क्षेत्रको भरोसायोग्य अस्पताल बनाउनुपर्नेमा जोड दिदै अस्पताललाई स्त्तोरन्नती गर्ने सरकारको निर्णयको स्वागत गरेका थिए । 
कार्यक्रममा गण्डकी प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. रामवहादुर केसीले अस्पतालका सेवा प्रवाह र भावी योजनाका वारेमा जानकारी गराउदै यो अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्नुपर्ने वताए ।
संघिय सांसद मन कुमारी केसी, प्रदेश सांसद इन्द्रलाल सापकोटा, कोपिला वोहोरा, संविधानसभाका सदस्य प्रकाश पौडेल, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, नेपाली काँग्रेसका जगदीशचन्द्र उपाध्यक्ष, नेकपाका हिरावहादुर केसी, राष्ट्रिय जनमोर्चाका थानेश्वर सुवेदी, समाजवादीका महेन्द्र सापकोटा, पूर्व अध्यक्ष देव वहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, जिल्ला प्रहरी प्रमुख एसपी लोकेन्द्र श्रेष्ठ, पत्रकार हरिनारायण गौतम लगायतले आफ्ना सुझाव राखेका थिए । छलफल कार्यक्रमको अध्यक्षता केबि राना मगरले, सञ्चालन शालिकराम शर्माले र स्वागत डा. शैलेन्द्र विक पोखरेलले गरेका थिए ।
२०१६ सालमा डिस्पेन्सरीको रुपमा स्थापना भएको यो अस्पताल २०३३ सालमा जिल्ला अस्पताल र २०६७ सालमा धौलागिरी अञ्चल अस्पतालको रुपमा स्त्तोरन्नती भएको थियो । हाल धौलागिरी अस्पताल ५० शैयाको अस्पतालको रुपमा सञ्चालनमा छ । यसलाई गण्डकी प्रदेशले उपप्रादेशिक अस्पतालको रुपमा अगाडि वढाउने प्रक्रिया अगाडि बढाएको छ ।





