काठमाण्डौ, १५ कात्तिक– पछिल्लो २४ घण्टामा देशभर २५ सय आठजना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अपडेट अनुसार देशभर पछिल्लो २४ घण्टामा ९ सय ७६ जना महिला र १५ सय ३२ जना पुरुष संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार यही अवधिमा २२ सय ६४ जना संक्रमित निको भएका छन् । होम आइसोलेसन, संस्थागत आइसोलेसन र अस्पतालमा उपचाररत संक्रमित निको भएका हुन् ।
पछिल्लो अपडेट अनुसार आज ९ हजार २ सय ७९ पिसिआर परीक्षण भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ । शनिबारसम्म निको भएर १ लाख ३१ हजार २ सय २२ जना घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १७ जनाले ज्यान गुमाएका छन् । देशभर आजसम्म २२।६ प्रतिशत अर्थात् ३८ हजार ३ सय ५७ सक्रिय संक्रमित रहेका छन् ।





