बेनी, १९ कात्तिक – म्याग्दीको सदरमुकाम बेनीमा होम आइसोलेसनमा बसेका कोरोना भाइरसका संक्रमितहरुको अवस्थामा बारेमा बुधबार अनुगमन गरिएको छ । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टी हुन थालेपछि घरमै बसेका संक्रमतिको अवस्था, जनस्वास्थ्यको मापदण्डको प्रयोग, समस्याका बारे जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को टोलीले अनुगमन गरेको हो ।
डिसिसिएमसीका संयोजक एवम् प्रजिअ उमाकान्त अधिकारी सहितको टोलीले होम आइसोलेसनको अवस्था र थप सुधारका लागि आवश्यक सुझाव समेत दिएको सदस्य स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए । उनका अनुसार एउटै घरमा रहेका संक्रमतिहरु बसेको कोठा, शौचालय, मास्क, भौतिक दुरी, स्वास्थ्य अवस्थाका साथै तत्काल सुधार गर्नुपर्ने बारेमा सुझाव दिइएको छ ।
होम आइसोलेसनको अवस्था सन्तोषजनक छ,‘समुदायबाट समेत संक्रमतिलाई हौसला दिने काम भएको छ’ लम्सालले भने । होम आइसोलेसनमा रहेका संक्रमितले मापदण्डको अनिवार्य कार्यान्वयन गर्नुपर्ने बताए। संक्रमतिको हेल्चेक्राईले समुदायस्तरमै कोरोना फैलिन जोखिम भएकाले समेत मापदण्डको प्रयोग गर्नुपर्ने बताए ।
म्याग्दीमा होम आइसोलेसनमा २६ जना रहेकोमा पहिलो दिन बेनीबजारमा रहेका १९ जना मध्ये ११ जना संक्रमतिसँग भेटघाट गरिएको छ । स्वास्थ्यमा समस्या आएमा तत्कालै उपचार, चिन्ह, लक्षण देखिएमा थप उपचारका लागि स्वास्थ्यकर्मी समेत घरमै पुग्ने ब्यवस्था मिलाइएको प्रजिअ अधिकारीले बताए ।
‘संक्रमितको अवस्था बारेमा सोजीखोजी गछौं,‘आवश्यक सबै सहयोग उपलब्ध हुन्छ’ प्रजिअ अधिकारीले भने । उनले स्बाब दिएर अनिवार्य होम क्वारेन्टाइनमा बस्ने, नेगेटिभ रिर्पोट आएपनि केहीदिन जनस्वास्थ्यको मापदण्डलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताए । बेनीबजारमा समुदायस्तरमै कोरोना फैलिने जोखिमलाई मध्यनजर गरी अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु आगामी एक हप्ताका लागि बन्द गरिएको छ । म्याग्दीमा कुल १ सय ८ संक्रमति मध्ये सक्रिय संक्रमतिको संख्या ३२ रहेको छ । जिल्लामा संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकामा धमाधम कोरोना पुष्टी हुन थालेपछि समुदायमै कोरोना फैलिने जोखिम ह्वात्तै बढेको छ ।





