पोखरा, २० कात्तिक– नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का गण्डकी इञ्चार्जसमेत रहेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफ्नै अभिव्यक्तिका कारण आलोचित भएका छन् ।
बुधबार सार्वजनिक भएको अन्तर्वार्तामार्फत् ‘पार्टी फुटे अध्यक्ष प्रचण्डकै कारण फुट्छ’ भन्ने ठोकुवा गरेपछि उनी कार्यकर्ता पंक्तिबाटै आलोचित भएका हुन् । पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका हरेक कदमको समर्थन गर्दै अहिले पार्टीमा देखिएको विवादको जड अर्का अध्यक्ष प्रचण्डसहितका नेता भएको मुख्यमन्त्रीको जिकिर रहेको थियो । उनको अन्तर्वार्ता सार्वजनिक भएलगत्तै नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) कास्की इन्जार्ज राजकाजी गुरुङले कडा आपत्ति प्रकट गदै सामाजिक सञ्जालमा लेखे,‘ पार्टी भित्रको महत्त्वपूर्ण विषयलाई यति हलुका अभिव्यक्ति दिएर आफ्नो ओज नघटाउनुस इन्चार्ज कमरेड ।’ राजकाजी पूर्वमाओवादी खेमाका नेता हुन् । पार्टी एकीकरणको महत्वपूर्ण जिम्मेवारीमा रहेका राजकाजी लामो समयदेखि मौन थिए । पार्टीभित्रको अन्तरविरोधमा खासै नबोलेका राजकाजीले मुख्यमन्त्री तथा पार्टी इञ्चार्जलाई चेतावनीको भाषामा सुझाव दिएलगत्तै गण्डकी प्रदेशसभाका सभासद दीपक कोइरालाले पनि कडा आपत्तिसहित आफ्नो धारणा सार्वजनिक गरे ।
कोरोना संक्रमण भएसँगै होम आइसोलेसनमा रहेका कोइरालाले फेसबु्कमा लेखे,‘ पार्टी कसको कारण फुट्छ र त्यसको परिणाम क–कसले कस्तो रुपमा ब्यहोर्नु पर्ला (यदि पार्टी फुट्यो भने ) त्यो समयले नै बताउला तर प्रदेशका नागरिक सामन्य उपचार र अस्पताल को बेड नपाएर मर्नु परेको दोष पनि प्रचण्डलाई नै दिएर उम्किनु हुन्छ कि केही गर्नुहुन्छ मुख्यमन्त्री ज्यू ?’
कोरोना नियन्त्रण र उपचारमा गण्डकी सरकार र मुख्यमन्त्री चुकेको गम्भीर आरोप लगाउने सभासद तथा विकास समितिका सभापति कोइराला पनि पूर्वमाओवादी खेमाका हुन् । मुख्यमन्त्रीको अभिव्यक्तिप्रति पूर्वमाओवादी खेमाले कडा आपत्ति जनाइरहँदा पूर्वएमाले समूहले भने मौनता साँधेको छ । बरु,मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानले पृथ्वीसुब्बालाई नै ट्याग गरेर प्रष्टिकरणको भाषामा भने,‘ पार्टी अन्तरसंघर्ष सम्बन्धमा मुख्यमन्त्रीज्यूिको अभिव्यक्ति अतिरञ्जित र उत्तेजक शीर्षकमा समाचार बनेर आएछ । वास्तवमा मुख्यमन्त्रीज्यू पार्टी एकताको लागि मरिमेटेर लागिरहनु भएको छ । उहाँको अभिव्यक्ति कु्नै खास नेतालाई दोष दिनेखालको होइन । त्यस्तो धारणा उहाँ राख्नुहुन्न । पार्टी एकता मजबुत बनाउने नै उहाँको धारणा हो ।’
गण्डकीका मुख्ँयमन्त्री गुरुङ पूर्वएमालेमा रहँदा पनि केपी ओलीको विचारसँग नजिक थिए । त्यसो त, मुख्यमन्त्री गुरुङ मात्रै हैनन्, गण्डकीका धेरैजसो पूर्वएमाले नेताहरु केपीसँग नै निकट रहँदै आएका छन् । गण्डकी अञ्चललाई केपी ओली समूहको अञ्चल मानिन्थ्यो । एमालेको पछिल्लो अधिवेशनमा केपीले गण्डकीबाट राम्रै सहयोग पाएका थिए । गण्डकीमा केपीइतरका नेताहरुलाई टिक्न गाह्रो हुने गरेको पूर्वएमालेका नेताहरु नै स्वीकार्छन् । अझ, कास्कीमा त ओली खेमाको दबदवा नै रहेको छ । पार्टी एकीकरणपछि पनि यो दबदबाको अन्त्य भएको छैन । मुख्यमन्त्री र पार्टी इञ्चार्जको रुपमा गण्डकीका मुख्यमन्त्रीले दोहोरो भूमिकामा छन् । पहिचानवादी भनेर चिनिएका मुख्यमन्त्री वैचारिक रुपले पूर्वमाओवादीको पहिचानको मुद्दासँग नजिक त छन् तर केपी ओली समूहको रक्षा गर्नुपर्ने दायित्व पनि उनीसँगै छ ।




