आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

संक्रमितहरु घरमै, जोखिम बढ्दो

संक्रमितहरु घरमै, जोखिम बढ्दो

‘समुदायमा संक्रणम फैलिएकोले आफ्नो ज्यान आफै बचाउने अवस्था आएको छ ।’


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०७७, मंगलबार

पोखरा, २५ कात्तिक – गएको चैत १५ गते पहिलोपटक कोरोना संक्रमण देखिएको गण्डकीमा जेठको अन्त्यतिर संक्रमणबाटै पहिलो व्यक्तिको मृत्यु भयो । मृत्युसँगै कोरोनाले खतराको घण्टी बजायो । देशमा लकडाउन थियो । लकडाउन खुलेपछि बजार खुल्यो । लकडाउन खुलेसँगै पोखरासहित गण्डकीमा संक्रमण बढ्दै गयो । भदौको पहिलोसाता पुनः निषेधाज्ञा जारी गरियो । पोखरा महानगरको जोडबलमा लगाइएको निषेधाज्ञाको प्रदेश सरकारबाटै विरोध भयो । निषेधाज्ञा हटेसँगै संक्रमणको दर बढ्यो अनि संक्रमणसँगै मृत्यु पनि । पछिल्ला केही दिनयता गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गर्ने विज्ञप्तिमा मृत्युका घटना भएकै हुन्छन् । सोमबार ४ जनाको मृत्युको खबर आउँदा कुल मृतकको संख्या १११ पुगेको छ । मृत्यु हुनेमा २२ वर्षीया युवतीसहित २ महिला र २ जना पुरुष छन् । गण्डकीमा हाल संक्रमितको संख्या ९ हजार ३५५ र सक्रिय संक्रमितको संख्या ४ हजार २९८ रहेको छ । पछिल्लो २४ घण्टामा १९७ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लागत रुपले हेर्ने हो भने नवलपरासीमा २९, स्याङ्जामा १६,कास्कीमा १३०, तनहुँमा १३, लमजुङमा २,गोखरामा ४ र पर्वतमा ३ जना संक्रमित थपिएका हुन् । ८७४ जनाको परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । पछिल्लो समय संक्रमित बढ्दै गएपछि गण्डकीमा कन्ट्रयाक्ट टे«सिङ हुन छाडेको छ । संक्रमणको शंका लागेकाहरु आफै गए मात्रै उनीहरुको परीक्षण हुन्छ । स्थानीय निकायहरुले क्वारेण्टिन व्यवस्थापनमा ध्यान दिन छाडेपछि संक्रमितको सम्पर्कमा आएका तथा संक्रमण पुष्टि भएका सबै घरमै बस्न थालेका छन् । सबैभन्दा धेरै अर्थात् २१७३ बेड क्षमताको आइसोलेसन भएको कास्कीमा २५ जना मात्रै सरकारी क्वारेण्टिनमा रहेका छन् । गण्डकीमा हाल १४६० महिला र २७२५ पुरुष आइसोलेसनमा छन् । होम आइसोलेसनमा रहनेको सख्ंया १७४८ रहेको छ । पोखरामा मात्रै १०२२ जना होम संक्रमित आइसोलेसनमा छन् । यो संख्या दैनिक बढ्दै गएको छ । व्यक्ति होम आइसोलेसनमा बस्दा स्वास्थ्य जोखिम मात्रै बढेको छैन संक्रमण बढ्ने खतरासमेत बढेको छ । अस्पतालमा बेड पाउने अवस्था छैन । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासीमा ४११,बागलुङमा ११,तनहुँमा १९८ र गोरखामा १०६ जना होम आइसोलेसनमा छन् । यो संख्या अझ बढी हुनसक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुको अनुमान छ ।
‘एक त पीसीआर रिपोर्ट नै ढिला आउँछ, त्यो बेलासम्म संक्रमण फैलिइसकेको हुन्छ, अर्को अस्पतालमा बेड छैन भनेपछि पीसीआर गराउने नै घटेका छन्’गण्डकी स्वास्थ्य निर्देशनालयका एक अधिकारीले भने, ‘समुदायमा संक्रणम फैलिएकोले आफ्नो ज्यान आफै बचाउने अवस्था आएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->