बागलुङ, २६ कात्तिक– सोमबार र मंगलबार बागलुङबाट दुई जना बिरामीलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाण्डौ पठाइएको छ । सोमबार पठाइएकी एक महिला कोरोना संक्रमित हुन् । तीन दिनदेखि धौलागिरी अस्पतालमा उपचाररत उनको परिवारको आग्रहमा काठमाण्डौं पठाइएको थियो । उनलाई परिवारका सदस्यले काठमाण्डौमा गएर उपचार गर्ने भनेपछि अस्पतालले पठाइदिएको मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । रिफर होइन डिस्चार्ज कागज बनाएर ।
मंगलबार पनि बागलुङ नगरपालिका वडा नं. २ का एक ८० वर्षिय बिरामीलाई हेलिकोप्टरबाट काठमाण्डौ उपचारका लागि लगिएको छ । उनी भने कोरोना संक्रमित होइनन् । ‘उनको पिसिआर परिक्षण पनि गरिएको छैन, उपचारका लागि काठमाण्डौ लैजान सक्ने भएकोले परिवारका सदस्यले पठाएका हुन्’ स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकास घिमिरेले भने, ‘बुढ्यौलीका बाबुलाई राम्रो ठाउँमा लगेर उपचार गरौं भन्ने उहाँहरुको चाहना अनुसार लैजानु भएको हो ।’ बागलुङ बजारमा कोरोना संक्रमितको उपचार हुन नसकेर लगिएको भन्ने हल्लाहरु फैलिएको थियो ।
दुवै जना बिरामीको लागि अक्सिजनको आवश्यकता भने थियो । अक्सिजन दिनुपर्ने अवस्था आएपछि अधिकांसले तत्काल रिफर खोज्ने गरेको पोखरेलले बताए । धौलागिरी अस्पतालमा उपचार नभएर पठाइएको कुरा भने मिथ्था भएको उनी बताउँछन् । ‘अहिले धौलागिरी अस्पतालमा पाइपलाइनबाटै अक्सिजन दिने गरी सबै बेडमा पुगेको छ’ उनले भने, ‘कतिपयलाई सिलिण्डरबाट पनि दिन सकिन्छ ।’ अक्सिजनको कारण बिरामी रिफर भए वा उपचार भएन भन्ने कुराको शंका हट्नुपर्ने उनले बताए ।
धौलागिरी अस्पतालले कोरोना उपचारका लागि ३ बेडको आइसियु र भेन्टिलेटर पनि जडान गरेको छ । त्यस्तै आइसियुमै डाइलायसिस सेवा पनि थालेकोले जटिल बिरामीको उपचारसमेत संभव भएको उनले बताए । अस्पतालमा मेडिकल अधिकृत र स्टाफ नर्सको भने अभाव भएको हो । विशेषज्ञ सेवाबाट हुने उपचारमा भने कमी नभएकोले बजारमा आउने हल्लामा नलाग्न उनले सबैलाई आग्रह पनि गरेका छन् ।
बागलुङमा पछिल्लो समय लक्षणसहितका कोरोना बिरामी देखिएकोले अस्पतालमा राख्नुपर्ने दबाव भने बढेको छ । बागलुङ नगरपालिकाभित्र रात्माटा, धौलागिरी बहुमुखी क्याम्पस र बहिरा बिद्यालयमा पनि आइसोलेसनको व्यवस्था गरिएको छ । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार मंगलबारसम्म बागलुङ नगरभित्र ८१ जना कोरोनाका सक्रिय संक्रमित छन् । तीमध्ये लक्षण देखिएकालाई अस्पतालमा राखिएको हो ।
राजधानी काठमाण्डौ र पोखराका अधिकांस अस्पताल संक्रमितले भरिएको, उपचारखर्च महंगो पर्नेजस्ता कारणले सर्वसाधारणले बागलुङमै उपचार गर्दा राम्रो हुने अस्पतालकै चिकित्सकहरु बताउँछन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पोखरेलले भने ‘धेरै रकम खर्चन सक्ने र राजधानीका विशेषज्ञलाई परीक्षण गर्न सक्नेलाई केही भएन, बागलुङमा उपचार नभएकोले पठाइयो की भन्ने आशंका भने हटाउनुपर्छ ।’





