पोखरा, २६ कात्तिक– पोखरा महानगरपालिका–२४, पुम्दीकोटमा निमार्णाधीन नेपालकै अग्लो शिव मुर्तिको ४५ प्रतिशत काम समपन्न भएको छ ।
पर्यटकीय राजधानी पोखरालाई धार्मिक पर्यटकीय सहरको रुपमा चिनाउन नेपालकै अग्लो दावि गरिएको पद्मासनमा बसेका शिवको ५१ फिट अग्लो मुर्ति बनाउन लागिएको हो मुर्ति पूर्णरुपमा भने १ सय ८ फिटको रहनेछ । ‘अहिलेसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ । अबको दुई वर्षभित्र सम्पुर्ण काम सम्पन्न हुन्छ’, शिव मुर्ति निमार्ण समितिका अध्यक्ष चन्द्रकान्त बरालले भने । भारतको मथुराबाट ल्याइएको मुर्ति हाल राख्ने काम भइरहेको उनले बताए ।
यस्तै मुर्तिबाहेक त्यहाँ प्रयोग हुने सम्पुर्ण ढुङ्गा सोही क्षेत्रको हो । सोहि क्षेत्रको ढ्ङ्गा प्रयोग गर्दा स्थानीयले रोजगार पाएको स्थानीय सुशिलप्रसाद बरालले जानकारी दिए । ‘यहीँको ढुङ्गा हातले कँुदेर परम्परागत शैलीमै काम गरिरहेका छाँै । यसले यहाँका स्थानीयले रोजगारीसमेत पाएका छन्’, उनले भने । कास्कीका विभिन्न डाँडाहरु पर्यटनको लागि परिचित रहँदा शान्ति स्तुपसँगै जोडिएको सो डाँडासमेत नयाँ पर्यटकीय गन्तव्यको रुपमा आउनेछ । ४० करोडको लागतमा मुर्ति बनेपछि पोखरामा धार्मिक पर्यटकमा वृद्धि हुने अपेक्षा गरिएको छ । पोखराबाट १३ किलोमिटरको दूरीमा रहेको उक्त क्षेत्रमा सवारीबाट जाँदा आधा घण्टाजति लाग्दछ ।
मुर्तिको वरिपरि १ सय ८ शिवलिङ्ग निमार्ण भइसकेका छन । मुर्तिलाई डाईमार्फत गणेशले परिक्रमा गरिरहने छ । त्यस्तै ध्यान केन्द्र, स्मृति पार्क , शहीद स्मारक पार्क लगायतका पूर्वाधार पनि बनाइएको छ । १८ रोपनी क्षेत्रफलमा रहेको क्षेत्रबाट माछापुच्छ्रे, अन्नपूर्णसहितका हिमश्रृखला, फेवाताल, पोखरा, सराङकोट, विश्वशान्ति स्तुपलगायत मनोरम दृष्यावलोकन समेत गर्न सकिन्छ ।





